सोलुखुम्बु : जिल्लाको दोर्पु स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुचारु भएको छ । एनसेल आजियाटा कम्पनीले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन उपलब्ध भएपछि उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण तथा दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले टेलिमेडिसिन सञ्चालनमा ल्याइएको धुलिखेल अस्पताल सामुदायिक कार्यक्रम विभागका संयोजक बिराज न्यौपानेले बताउँनुभयो ।
उहाँका अनुसार यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४ ओटा जिल्लाको स्वास्थ्य केन्द्रहरुमा ३५÷३५ लाख रुपैँया पर्ने ४ ओटा टेलिमेडिसिन उपलब्ध गराइएको छ । यस्तै यो प्रविधिमार्फत नागरिकहरुले घरैमा बसेर स्वास्थ्य परमर्श लिन सक्ने समेत बताइएको छ ।
जसअन्तरगत हिमाली जिल्ला सोलुखुम्बुको दोर्पु, सिन्धुपाल्चोकको मानेखर्क, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्देमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपलब्ध गराएको संयोजक न्यौपानेले सोलु एफ. एम.सँग बताउँनुभयो ।
यी ४ स्वास्थ्य केन्द्रहरुले कुल २० हजार भन्दा बढी घरधुरीलाई सेवा प्रवाह गर्ने बताइएको छ । टेलिमेडिसिन सञ्चालनमा आएसँगै स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको सहज रुपमा उपचार सेवा पाउनेछन् । एनसेलले २०७६ सालकोे साउनमा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन कार्यक्रम सञ्चालनको लागि सम्झौता गरेको थियो ।