काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रीत हुन निर्देशन दिनुभएकाे छ । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै सरकारलाई सफल बनाउने अभियानमा केन्द्रीत हुन पार्टीका नेता, कार्यकर्तालाई उहाँले निर्देशन दिनुभएकाे हाे ।
अबको चार महिना सरकारलाई सफल बनाउने अभियानमा केन्द्रीत हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे । बैठकले भोलि (शनिबार)बाट सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ ।
पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवाद विरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्न पनि उक्त बैठकले अनुरोध गरेको छ । बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको श्रेष्ठले बताउँनुभयाे ।