कोरोनाको तेस्रो लहरको जोखिम बढ्याे, तयारी अवस्थामा रहन गृहमन्त्रालयकाे निर्देशन

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडाैं : कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको भन्दै गृह मन्त्रालयले अस्पताल र आइसोलेसनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।  शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै मन्त्रालयले अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको हो ।

पहिलो र दोस्रो लहरका बेला संक्रमितको उपचार गर्न सूचीकृत भएका अस्पतालहरू हाल स्थगन गरिएको हुँदा फेरि सूचीकरणको प्रक्रिया थाल्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । हाल संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा अस्पतालका बेडहरु भरिँदै गइरहेको भन्दै मन्त्रालयले तेस्रो लहरका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजहरूमा आवश्यक व्यवस्थापन गर्न भनेको छ।

गृहमन्त्रालयले सूचना जारी गर्दै आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजलाई सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको पत्रपछि सचिव स्तरीय निर्णयबाट देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै निर्देशन दिइएको हो।

गृहमन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरू र मेडिकल कलेजहरू सूचीकृत गर्ने, अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको इमेलमा पठाउने, सूचीकृत अस्पतालहरूमा संक्रमितहरूको तथ्यांक र विवरण दैनिक रूपमा अनिवार्य अध्यावधिक गर्न लगाउने निर्देशन दिएकाे छ ।

यस्तै मासिक अध्यावधिक विवरण एकिन गरी सो अनुसार निःशुल्क उपचार भएका संक्रमितहरूको विवरण सम्बन्धित अस्पतालहरूलाई सोधभर्ना गर्ने प्रयोजनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने र सूचीकृत अस्पतालहरूको नियमित सुपरिवेक्षण अनुगमन गर्न भनेको छ ।

संसारभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण नेपालमा समेत फैलिएको हाल संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथा अस्पतालमा पनि उपलब्ध बेडहरू भरिँदै गइरहेको अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार