ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल विर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो ।

कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताउनुभयो । आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रम्हब्याख्याको रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृति केपी ओलीमा देखिएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

पार्टी एकता हुँदा भएका कुनैपनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आफुलाई महाराजधिराज जस्तो ठान्ने गरेको बताउनुभयो । कम्युनिष्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको पनि बताउनुभयो ।

सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर केपी ओली लागेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘अहिले छोटो समयमा कम्युनिष्ट पार्टीकै नेतृत्वबाट आफैले बनाएको संविधान र त्यसको मर्ममाथि निर्मम खालको प्रहार भएको देखियो र यो सम्पूर्ण लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने दिशातिर र कम्युनिष्ट आन्दोलनले हासिल गरेका उचाईहरु, यसले प्राप्त गरेका गौरवलाई नै कालो पोत्ने किसिमले त्यसका धब्बा लगाउने किसिमले कम्युनिष्ट पार्टीकै नेतृत्वबाट आएको यो पनि अर्को आश्चर्य हो । यो सुखद होइन दुःखद आश्चर्य हो । यो पनि हामीले अहिले भर्खरै देख्यौं ।’

प्रचण्डलाई उपयोग गरी माधव कुमार नेपाललाई निचोर्ने र प्रचण्डलाई पनि खिचिक्कै पार्छु भन्ने रणनीतिमा केपी ओली लागेको पनि बताउनुभयो । यो कुरा आफूले पार्टी एकता गरेको एक महिनामा नै बुझिसकेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार