पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलो बन्याे : महासचिव पौडेल

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताउनुभएको छ ।

पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाई छ । पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशावट गर्नका लागि नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उहाँले बताउनुभयो ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव पौडेलले सचिवालयले आफ्नो समिक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ ।

त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु । यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृतवदायी भुमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।

महासचिव पौडेलले आफ्नो अभिभारा सहि ढंगले पुरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवरी हस्तान्तरण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौँ । हामीले यति मात्रै गर्न सक्यौँ यो भन्दा बढी गर्न नसक्ने भयौँ ।

हाम्रो अभिभारा ठिक ढंगले पुरा गर्न नसक्ने भयौँ । त्यसैले तपाईहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस हामी पदमुक्त हुन्छौँ । हिजोको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफुले राखेको उहाँले बताउनुभयो । पार्टी आन्तरिक जीवनमा गम्भिर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उहाँले जनता र नेता कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार