भोलिदेखि लामो दुरीमा सार्वजनिक सवारी चलाउन व्यवसायी र मजदुर तयार

काठमाडौँ  :  लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउन यातायात व्यवसायी र मजदुरहरु सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् ।

व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ ।

चैत ११ को लकडाउनपछि लामोदूरीको यातायात ठप्प छ । असार २५ देखि लकडाउन खुकुलो बनाउँदै सरकारले छोटो दूरीको सार्वजनिक यातायात चल्न पाउने व्यवस्था गरेको थियो । निषेधाज्ञा नभएको जिल्लामा व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् ।

कोभिड १९ को जोखिम कायमै रहेको भन्दै सरकारले छोटो दूरीको यातायात साधनले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाएको थियो । यसमा यातायात व्यवसायीले थप ५० प्रतिशतसम्म भाडा लिनसक्ने व्यवस्था गरेको थियो ।

मन्त्रिपरिषदले असोज १ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि कुन मोडालिटीमा गर्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ । मन्त्रालयले लामो दूरीको लागि छुट्टै कार्यविधि बनाउने तर ५० प्रतिशत यात्रु र थप भाडाको व्यवस्था यथावत् राखिने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार