तिङ्ला घटना : पक्राउ परेकालाई रिहाईको माग सहित काग्रेसको धर्ना

२४ घण्टामा रिहाई नगरे सशक्त आन्दोलनको चेतावनी

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : प्रहरी माथी हातपात गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिनार्सत रिहाइ गर्न माग गर्दै नेपाली कांग्रेस सोलुखुम्बुले धर्ना सहित नारा जुलुस गरेको छ । गत आईतबार सोलुदुधकुण्ड नगरपालिका ११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलिमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेका तरुणदलका नेता कार्यकर्ता सहित ६ जनालाई रिहा गर्न माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना सहित नाराजुलुस गरिएको हो ।

धर्ना तथा जुलुसमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापती विनोद बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा सहितका ब्याक्तिहरु सहभागी थिए । उनीहरुले आफ्ना कार्यकतालाई झुटा आरोप लगाएर फसाइएको, हिरासतमा यातना दिइएको लगायतका आरोप समेत लगाएका छन् । फरक पार्टीको सरकार भएकाले कागं्रेसलाई नियोजित ढंगबाट फसाउन खोजिएको भन्दै प्रहरी, प्रसाशन समेत एक पक्षिय रुपमा अघि बढेको काग्रेंसको आरोप छ ।

प्रहरीका अनुसार रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेका प्रहरीटोली माथि उनीहरुले एक्कासि हातपात गरेपछि पक्राउ गरिएको हो । ती युवाहरुले प्रहरी सहायक निरीक्षक सरयुग महतोको प्रहरी पोसाकमा लगाएको सिठीको कडीसमेत चुँडाइदिएको प्रहरीको दावी छ । साथै उनीहरुले ती प्रहरीलाई लडाएर लात्ती, मुक्का र क्यान बियर प्रहार गरेर घाइते बनाएको प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताउँनुभयो ।

पक्राउ परेका ब्याक्तिहरुको विषयमा सत्य तथ्य अनुसन्धान गरी कानुनी प्रकृया अघि बढाइने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सुचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले बताउँनुभयो । सोमबार आरोपीत विरुद्ध जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरि १० दिनको म्याद थप गरि अनुशन्धान भईरहेको प्रहरीको भनाई छ ।

तर यता नेपाली काग्रेंसका जिल्ला सभापति विनोद बस्नेतले भने २४ घण्टा भित्र निर्दोश आफ्ना कार्यकता रिहा नभएपनि थप शसक्त आन्दोलन अघि बढाउने चेतवानी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार