सोलुखुम्बुबाट दुई गर्भवती महिलाको उद्धार

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सोलुखुम्बुबाट २ जना सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । बेहोस अवस्थामा रहेका सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका २० बर्षिय गर्भवती विनिता लामिछाने र बच्चाको अवस्था नाजुक भएका माप्यदुधकोशी गाउँपलिका वाकुका २३ बर्षिय जेनिसा मगरलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ लगिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

उनीहरुको अहिले प्रसुती गृह थापाथलीमा उपचार भईरहेको छ । अस्पतालका निमित्त प्रमुख शानी शेर्पाका अनुसार ३३ हप्ताकी गर्भवती विनिता रक्तश्रावका कारण बेहोस भएकाले थप उपचारका लागी सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको हो ।

सामान्यतय ४० हप्तामा बच्चा जन्मने भएपनि ३३ हप्ताको अवधीमै आमामा यस्तो समस्या देखिएपछि रेफर गरिएको उहाँको भनाई छ । उपचारमा संलग्न चिकित्सकका अनुसार यस्तो अवस्थामा आमाको ज्यान बचाउन १२ घण्टा भित्र बच्चा निकाल्नु पर्ने हुन्छ । वाकुकी जेनिसाको बच्चालाई श्वास प्रश्वासमा समस्या आएपछि रेफर गरिएको अस्पतालले जनाएको छ ।

फाप्लु अस्पतालमा सामान्य प्रकृयाबाटै आज दिउसो प्रसुती गराइएको भएपनि बच्चाको अवस्था जटिल बन्दै गएपछि काठमाण्डौ पठाइएको निमित्त प्रमुख शेर्पाले बताउँनुभयो । दुबै जना महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत फाप्लुबाट एकै पटक उद्धार गरिएको हो ।

भदौ १ गते मात्रै पनि दुई जना सुत्केरी महिलाको एकै दिन हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । सोलुखुम्बुमा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि ११ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको जिल्ला प्रसाशन कार्यालयको तथ्याकं छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार