काठमाडौं : कोरोना संक्रमण फैलिएपछि सरकारले मुलुकका विभिन्न ४८ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृह मन्त्रलायले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा निषेधाज्ञाको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोटमा आंशिक निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गरेका छन् ।