काठमाडौ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली महिलहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । भदौ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा सप्तऋषिको पूजा आराधना गरिन्छ । तर यस वर्ष कोरोना महामारीको कारण महिलाहरुले नदिको किनाराना नगई आफ–आफ्नै घरमा मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी त्यसपछि हरितालिका व्रत समापनका लागि गौदान, पूर्णपात्रलगायत काम गर्ने र त्यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ ।
हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला र पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।