काठमाडौँ : नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण संख्या मात्र हाइन मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । सरकारले लकडाउन खुकुलो गरेसंगै संक्रमणको संख्या बढेको र मृत्यु संख्या बढ्दै गएको कतिपय विज्ञ हरुले बताइरहेका छन । आज पनि नेपालमा थप कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी पछिल्लो पटक चार जना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । उनी साउन २१ गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा २ बस्ने ६७ वर्षीया महिला रहेकी छिन् ।
त्यस्तै वीरगन्जको नारायणी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।