कोरोना संक्रमणको जोखिम फेरि बढ्यो, ४१ जिल्लामा फेरि लकडाउन

काठमाडौँ  :  देशव्यापी लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि अधिकांश जिल्ला फेरि लकडाउनतर्फ नै फर्किएका छन् । कुनै जिल्लामा निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् । आजसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयका अनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन गरेका छन ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र बन्द रहेको मन्त्रालयले जनाएको छ । चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन गरिएको छ ।

रेडजोनमा भए पनि उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन् । सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ । अहिले काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके रेडजोनमा परेका छन् । अहिले ७२ जिल्लामा संक्रीय संक्रमित छन् । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रीय संक्रमितको संख्या शून्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार