खर्च नभएपछि ११ जना नेपाली मलेसियामा अलपत्र

सोलुखुम्बु : मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिना अघि नै भिसा अवधि सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यँहा कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा गरिएको लकडाउन तथा अन्तराष्ट्रिय उडान बन्द हुँदा उनीहरू स्वदेश फर्कन पनि सकेका छैनन् । पाँच महिनादेखि काम बिना नै कोठामा बसिरहँदा खर्च अभाव भएको उनीहरूले बताएका छन् ।

“पाँच महिनादेखि काम गर्न पनि पाएको छैन,’ श्रेष्ठले भन्नुभयो, “नेपाल फर्कनका लागि मलेसियास्थित नेपाली दूतावासमा पटक–पटक अनलाइन फर्म पनि भ¥यौं, तर नियमित उडान नहुँदा महङ्गो पर्ने भन्दै कम्पनीले पठाउन नै मान्दैन ।”

नियमित उडानको लागि भनेर कम्पनीले टिकट समेत खरिद गरिसकेको उहाँको भनाई छ । तर चार्टड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै अलपत्र परेका नेपालीहरूले सहयोगका लागि अनुरोध गरेका छन् । मलेसियाबाट नेपाल आउन लागि नियमित उडानमा ६०० देखी ७०० रिङ्गेट लाग्ने, तर चार्टड उडानमा भने १५९० रिङ्गेट तोकिएको छ ।

कम्पनीबाट आफूहरु विमानस्थलसम्म पुग्नकै लागि ६ घण्टा हिँड्नुपर्ने र यसका लागि ७० रिङ्गेट लाग्ने तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको निरकुमार तामाङले बताउनुभयो । कम्पनीले खर्च नब्यहोर्दा नेपाल आउनको लागि उनीहरुले ५६ हजार ७९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

खाना र बस्नको लागि व्यवस्था गरेपनि कम्पनीले दिएको खाद्यान्नले पेटभर खानसमेत नपुग्ने गरेको विकास विश्वकर्माले बताउनुभयो । ९ जनालाई एक साताका लागि २० के.जी चामल दिने गरेपनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । त्यो समेत नेपाली दूतावासलाई भनेपछि एक महिना यतामात्रै व्यवस्था गरेको अलपत्र परेका नेपालीहरुले बताएका छन् ।

खानाकै लागि एक जनालाई ४०० रिङ्गेट खर्च हुने गरेको घनश्याम श्रेष्ठले बताउँनुभयो । अहिले त्यस क्षेत्रमा पनि कोरोना फैलन थालेकाले जोखिम बढेको भन्दै उद्दारका लागि अनुरोध गर्नुको विकल्प नभएको उनीहरूले बताएका छन् । उनीहरूलाई अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था निम्तिएको छ ।

अलपत्र परेका नेपालीहरुमा झापाका निरकुमार तामाङ, धरानका विकास बि.क र राजु वि.क, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अमर आचार्य र अमृत गुरुङ, गोर्खाका भीम बहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार