सोलुखुम्बु : जिल्लाको सोताङबाट रु.१४ लाख बढी नगद सहित ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरिक्षक अनिल लिम्बुको नेतृत्वमा खटिएको टोलिले जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
सोताङ गाउँपालिका वडा नम्बर ५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलीरहेको अवस्थामा रु.१४ लाख ६५ हजार नगद सहित मंगलबार अपराह्न पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोताङ गाउँपालिका २ का दर्गा प्रसाद राई, वडा नम्बर ४ का दुर्गा राई, थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका दिपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाई छ ।
उनीहरुको साथबाट कृषि बिकास बैंकको रु.२९ लाखको चेक समेत बरामत गरिएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरी तर्फ ल्याईदै गरेको प्रहरीले जनाएको छ । यती ठुलो परिणाममा जुवा खालबाटै प्रक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो ।