सोलुखुम्बुका चार जनामा कोरोना पुष्टि

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुखुम्बुका ४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणमा साउदीबाट फर्किएका ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय सोलुखुम्बुले जनाएको छ ।

सोलु दुधकुण्ड नगरपालिकाका ८ का २७ बर्षिय र ११ का २६ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी लक्ष्मी शाहीले जानकारी दिइन् । यस्तै थुलुङ दुधकोशी गाउँपालिका ७ का ३५ बर्षका र वडा नम्बर ५ का ३२ बर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको उनको भनाई छ ।

जिल्ला अस्पताल फाप्लुको क्वारेण्टिनमा दुई जना र थुलुङदुधकोशी गाउँपालिकाले निर्माण गरेको क्वारेण्टिनमा दुई जना रहेका छन् । यस अघि बाहिरबाट आएका २६ जनाको स्वाब संकलन गरि पठाएकोमा २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना पोजेटिभ देखिएका ४ जनालाई थप उपचारको लागि बिराटनगर लाने तयारी भईरहेको श्रोतको भनाई छ । यस अघि पनि सोलुदुधकुण्ड नगरपालिका ८ मा कोरोना पोजेटिभ देखिएका पुरुष निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार