माप्यदुधकोशी  कृषि शाखाको ७ लाख बजेट फ्रिज

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : माप्य दुधकोशि गाउँपालिकामा चालु आर्थिक वर्ष (०७६÷७७) मा कृषि बजेट तर्फको सात लाख रुपैँया रकम फ्रिज भएको छ । कृषि मन्त्रालयबाट प्राप्त बजेटमध्ये कृषि चुण वितरण र माटो परिक्षण शिविर अन्तर्गतको दुई लाख रुपैँया र सानो सिँचाइ शिर्षकको ५ लाख रुपैँया फ्रिज भएको हो ।

कृषि शाखा माप्य दुधकोशि गाउँपालिकाका अनुसार कुल ५५ लाख रुपैँया कृषि तर्फ बजेट विनियोजन भएकोमा ३५ लाख खर्च भएको छ । थ्रेसर मेसिन वितरण शिर्षकमा १४ लाख रुपैँया खर्च भएको कृषि शाखा प्रमुख खड्ग राज घिमिरेले बताउनुभयो ।

यस्तै सुन्तला भण्डार कोल्ड स्टोर निर्माणको लागि १० लाख रुपैँया, कृषिजन्य वस्तु संकलन केन्द्र निर्माणको लागि १० लाख रुपैँया र टिपिएस बिउ वितरण तथा तालिमको लागि एक लाख खर्च भएको कृषि शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षका सबै कार्यक्रम समयमा नै सम्पन्न भएपनि यसवर्ष भने लगडाउनको कारण कार्यक्रम प्रभावीत भएको कृषि शाखाले जनाएको छ ।

गत आर्थिक वर्ष ०७५÷७६ मा माप्य दुधकोशि गाउँपालिकामा ८० जना कृषकले माटो परिक्षण गरेपनि यस वर्ष भने किट बक्स समयमा नआएपछि माटो परिक्षण गर्न नसकिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार