१४ बुँदे माग पूरा नगरे आन्दोलन गर्ने होटल व्यवसायी महासंघको चेतावनी

काठमाडौँ : होटल व्यवसायी महासंघले विभिन्न माग राखेर आन्दोलन गर्ने चेतावनी दिएको छ । साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेको हो । महासंघका अध्यक्ष हिराध्वज शाहले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर माग पुरा गर्न आग्रह गर्नुभयो । उहाँले विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलबीच विभेद गरेको आरोपसमेत लगाउनुभयो ।

उहाँले तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायको प्रतिनिधित्व गराउन माग गर्नुभयो ।होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिन पनि माग गरेका छन् ।

लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली र पानीको महशुलमा १ वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने माग अघि सारेका छन् । यस्तै बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार