अध्यक्ष शेर्पाको बिहिबार अन्त्येष्टी, श्रद्धाञ्जलीका लागि मुख्य मन्त्री राई लुक्लामा

  भोजराज कार्की

सोलुखुम्बु : खुम्बु पासा ल्हामु गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पाको बिहिबार बिहान अन्त्येष्टी गरिने भएको छ । उहाँको पार्थिव शरीरलाई बिहान ७ बजे देखि ९ बजे सम्म श्रद्धाञ्जलीका लागि राखिने र ९ बजे बौद्ध परम्परा अनुसार अन्त्येष्टी गरिने गाउँपालिका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाले जानकारी दिनुभयो ।

अन्त्येष्टी कार्यक्रममा सहभागी हुन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित बिशिष्ट व्यक्तिहरु अहिले लुक्ला आईसक्नुभएको छ । कार्यबहाक अध्यक्ष शेर्पाका अनुसार सोलुखुम्बुका प्रतिनिधी सभा सदस्य हेमकुमार राई (सुरवीर), प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रदेश १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सांसद उत्तम कुमार बस्नेत पनि लुक्ला पुग्नुभएको छ ।

यस्तै नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचिव गोम्बु शेर्पा, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थपन समितिका अध्यक्ष सोनाम शेर्पा, नेकपा सोलुखुम्बुका जिल्ला कमिटी सदस्यहरु, जनप्रतिनिधी लगायत् स्थानीयको समेत सहभागीता रहने छ । अध्यक्ष शेर्पाको पार्थिव शरिरमा नेकपा र खुम्बु पासाङल्हामु गाउँपालिकाको झण्डा ओढाएर उच्च सम्मान व्यक्त गर्ने कार्यक्रम रहेको उपाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

जिल्लाका सबै स्थानीय तहमा सार्वजानिक विदा

सोलुखुम्बुको सबै स्थानिय तहले बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेका छ । मंगलबार निधन हुनुभएका खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको शोकमा बिहिबार जिल्लाका आठ वटै स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका, नेचा सल्यान, माप्यदुधकोशी, सोताङ, लिखुपिके गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिका प्रमुख तथा उपप्रमुखको संयुक्त बैठकले सार्वजिनक विदा दिने निर्णय गरेको छ ।

अध्यक्ष शेर्पाको शोकमा गाउँपालिका भित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अविलाल राईले जानकारी दिनुभयो ।

मृतक अध्यक्षको सम्मानका लागि वृक्षारोपण
स्वार्गिय गाउँपालिका अध्यक्ष शेर्पाको सम्झनामा १ हजार ८ सय २ वटा विरुवा रोपिएको छ । खुम्जुङ् क्षेत्रमा १ हजार १ ओटा र खुन्दे क्षेत्रमा ८ सय १ ओटा विरुवा रोपिएको हो ।

स्वार्गिय शेर्पाले खुम्बु क्षेत्रमा गर्नुभएको योगदानको उच्च सम्मान गर्दै स्थानिय तथा सरोकारवालाहरुले उक्त विरुवा रोपेको खुम्ब्यूला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष छिमी छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

उहाँ सगरमाथा राष्ट्रिय निकुञ्ज अन्र्तगत चौरिखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको पुर्व अध्यक्ष समेत रहनुभएको थियो । एक परिवारले मात्रै सदस्य गुमाएको नभई समाज, समुदाय र राष्ट्रलेनै विकास प्रेमी ब्यक्तीलाई गुमाएको खुम्ब्यूला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष शेर्पाले बताउँनुभयो । खुम्बु क्षेत्रको बिकासमा उहाँ जस्ता निडर बिकास प्रेमी युवा व्यक्तिको सधैभरि आवश्यकता परिरहने खुम्बुबासीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार