सोलुखुम्बु : यहाँका एक मात्र कोरोना संक्रमित युवा निको भएर घर फर्किनुभएको छ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराईरहनुभएका २७ बर्षिय युवा निको भएर बिहिबार घर फर्कनुभएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिनुभयो ।
करिब १४ दिनकोे उपचार पछि पिसिआर परिक्षण गर्दा कोरोना नेगेटिभ आएसंगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यद्यपी उहाँलाई केहि दिन भने होम क्वारेन्टिनमा नै राखिने छ । गत जेठ १५ गते संक्रमण पुष्टि भएर उपचारको लागि बिराटनगर लगिएको थियो । उहाँ संगको सम्पर्कमा रहेका घर परिवार, स्वास्थ्यकर्मी सहित ५० जनाको पिसिआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि आएको थियो ।
१५ दिन पछि अस्पतालको नियमीत सेवा पुनः सुरु
जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमीत सेवा सुचारु गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहिबारबाट पुर्ण रुपमा सुचारु भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।
अस्पतालका अनुसार बिहिबार पहिलो दिन ओपिडि मार्फत ३५ जना बिरामीले सेवा लिएका छन । कोरोना पोजेटिभ देखिएका युवाको सम्पर्कमा रहेका कारण अस्पतालका स्वास्थयकर्मीहरु क्वारेन्टाइनमा बसेका थिए । अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको कोरोना पिसिआर रिपोर्ट समेत नेगेटिभ आएकाको छ ।
आरडिटी पोजेटिभ आएसंगै गाउँपालिका प्रवेशद्धारमा सिसीक्यामेरा
जिल्लाको खुम्बु पासाङ ल्हमु गाउँपालिकाले एक स्वास्थ्यकर्मीमा आरडिटी पोजेटिभ देखिएसगै गाउँपालिका प्रवेशमा थप कडाई गरेको छ । अहिले गाउँपालिका प्रबेश गर्ने सबै नाकाहरु बन्द गरेको गाउँपालिका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मानिसहरुको अत्याधिक चहलपहल हुने ठाउँमा भने सिसीक्यामेरा समेत जडान गरिएकोछ । अनुमति विना गाउँपालिका भित्र प्रवेश निषेध गरेसँगै सिमा नाकामा कडाई गर्ने उदेश्यले सिसीक्यामेरा जडान गरिएको गाउँपालिका प्रवक्ता शेर्पाले बताउनुभयो ।
वडा नम्बर २ सुर्के नाका र जोरसल्ले चेकपोष्टमा क्यामेरा जडान गरेको गाउँपालिकाले खरिखोला चेक पोष्टमा समेत सिसीक्यामेरा जडानको तयारी भइरहेको जनाएको छ ।
गत सोमबार खुम्बु पासाङ ल्हामु गाउँपालिका स्थित निकोलनिकी अस्पताल लुक्लामा कार्यरत आठ जना स्वास्थ्य कर्मीको आरडिटी गर्दा एक जनामा पोजेटीभ देखिएको थियो । २७ बर्षक एक स्वास्थ्य कर्मीको आरडिटीमा कोरोना पोजेटीभ देखिएपछि थप कडाई गरेको गाउँपालिकाले जनाएको छ ।