काठमाडौं : बाँकेको नेपालगञ्जमा आइतवार एकै दिन कोरोना भाइरसका १६ जना नयाँ बिरामी भेटिएका छन् । नेपालगञ्जमा आइतवार पहिलोपटक नौजन बिरामी भेटिएका थिए ।
त्यसपछि दोस्रो पटक ६ जना र तेस्रो पटक ९ जना गरेर १६ जना संक्रमित भेटिएको अस्पतालले श्रोतले जनाएको छ । भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप नौजनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा सक्रमितको संख्या ७४ पुगेको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताउनुभएको थियो ।
जानकारी दिएको समयमा नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको बताइएको थियो । डा देवकोटाले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको जानकारी दिनुभएको छ । २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन् ।
मन्त्रायका अनुसार २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन् । ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् ।
क्षमायाचना : यस अघि प्रकाशित समाचारमा श्रोतले दिएको जानकारी अनुसार ८५ जनाको संख्या उल्लेख गरिएपनि पुष्टि नभएको हूँदा क्षमायाचना माग्दै समाचार सच्याईएको छ । सम्पादक ।