नागरिक उद्धारमा सोलुदुधकुण्ड नगरपालिकामा फरक दिन फरक विज्ञप्ती (विज्ञप्ती सहित)

उपमेयरको कार्य प्रति नगरपालिकाको ध्याकर्षण

सोलुखुम्बु ; लक डाउनका कारण विभिन्न कारणले काठमान्डौ लगाएतको क्षेत्रमा रोकिएका नागरिकको उद्धार गर्ने कार्यमा सोलुखुम्बु अन्य जिल्लाको तुलनामा अब्बल बन्यो । यहाँका स्थानीय सरकारले समेत नागरिकको उद्धार गर्ने कार्यलाई उस्तै महत्वका साथ अगाडी बढाए ।
निर्वाचित जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिले गरेको सहयोग प्रति आम सर्वसाधरण नागरिकले खुलेर प्रशंसा गरिरहेका छन् ।

विषम परीस्थितिमा गरेको सहयोग प्रति आम नागरिकले कुनैपनि दल, जाती, धर्म हेरेका छैनन् कि उनीहरुले गरेको कार्यको प्रशंसा गरेका छन् । तर सोलुदुधकुण्ड नगरपालिकामा भने नागरिकको उद्धारमा राजनितिक जस लिने कार्यलाई प्राथमीकता दिईएको छ । सकंटको घडीमा गरिएको नागरिक उद्धारमा नगरपपालिका मेयर शेर्पा पक्ष र उपमेयर राई बीच जस लिने होड्बाजी चलेको हो ।

नगरपालिका उपमेयर कल्पना राईले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै लक डाउनमा अलपत्र ६ सय ३३ जना नागरबासीको आफ्नो नेतृत्वमा खटिएको टोलिले उद्धार गरेको दाबी गरिएको छ । नागरिकको उद्धारमा सहयोग र समन्वय गर्ने समेतलाई धन्यवाद दिईएको विज्ञप्तीको खण्डन गर्दै मेयर नाम्गेल जाङबु शेर्पा पक्षले मगंलबार अर्को विज्ञप्ती जारी गरेको छ ।

नगरप्रबक्ता सारदा माया तामाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा ९६ जना आफ्नै पहलकदमीमा, ३६० जना निजि खर्चमा र ४३९ जना मेयर नाम्गेल जाङबु शेर्पाको व्यक्तिगत खर्चबाट उद्धार गरि नगरपालिका ल्याईएको बताईएको छ । सोही विज्ञप्ती मार्फत विपद्को घडीमा सामुहिक रुपमा राहत र उद्धारमा खटिनुको सट्टा उपमेयर राईले कोठा भित्र बसेर ६३३ जनाको उद्धार गरेको भन्ने भ्रमपुर्ण र आधरहिन समाचार प्रति नगरपालिकाको गम्भिर ध्यानकर्षण भएको समेत उल्लेख गरिएको छ ।

तर उपमेयर पक्षले भने उद्धार गरेको नागरिकको सम्पुर्ण विवरण उल्लेख गर्ने दावी गरेको छ । नागरिकको उद्धार गरिरहँदा भएको सम्पुर्ण गतिविधिको प्रमाण पेश गर्न आफुहरु तयार रहेको समेत उनीहरुले दावी गरिरहेका छन् ।

उपमेयर राईले जारी गरेको विज्ञप्ती

नगरपालिकाको तर्फबाट जारी गरिएको विज्ञप्ती

आफुखुसी अगाडी बढ्दाको परिणाम ।
सञ्चारकर्मीले मेयर नाम्गेल जाङ्बु शेर्पासंग नगरपालिकाले उद्धार गरेको संख्या बारे बुझ्न सोमबार सम्पर्क गर्दा आफुले करिब ७ सय बढी नागरिकको उद्धार गरेको, केही उपमेयरले समेत उद्धार गरेको र केही नागरिक आफै गाउँ आएकाले एक्कीन तथ्यङ्क उपलब्ध गराउन नसक्ने बताउँनुभएको थियो । तर २४ घण्टा नबित्दै नगरपालिकाको तर्फबाट प्रबक्ताले विज्ञप्ती जारी गर्दै उपमेयर उद्धार कार्यमा खटिनुको सट्टा आधारहिन तथ्य सार्वजानिक गरेको भन्दै आपत्ति जनाएको छ ।

दुइपक्षबीचको बिज्ञप्तीको आशयलेनै विपद्को बेला नागरिकको उद्धार र राहतमा राजनिति गरेको प्रष्ट हुने जानकार बताउँछन् ।

गाउँपालिकाबाट नगरपालिकाले सिक्न नसकेको कुरा ।
सोलुखुम्बुको सात वटा गाउँपालिकाले कार्यपालिका बैठक बोलाएर राहत वितरण तथा उद्धारको लागि औपचारीक निर्णय गरेर काम गरेको छ । तर नगरपालिकाले यस सम्बन्धमा औपचारीक जानकारी गराएको छैन ।

गाउँपालिका केन्द्र सम्म सडक सञ्जाल नपुगेको खुम्बुपासाङल्हामु गाउँपालिकाले बैशाख ३ गते कार्यापालिकाको बैठक बोलाएर नागरिकको उद्धार गर्ने निर्णय गरेको थियो । उसले ३४० जनाको उद्धार गरेको छ । थुलुङदुधकोशी गाउँपालिकाले बैशाख ८ गते सम्पन्न कार्यपालिका बैठकले पालिका बाहिर असहज अवस्थामा रहेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो । यसले सबैभन्दा धेरै ११९८ जना नागरिकको उद्धार गरेको छ । अन्य स्थानीय तहको तुलनामा व्यवस्थीत ढंगबाट आफुहरुले नागरिकको उद्धार गरेको गाउँपालिका अध्यक्ष असिम राईको दावी छ ।

विभिन्न स्थानीय तहले कार्यपालिका बैठकले निर्णय गरेर राहत तथा उद्धार कार्य थालनि गरेको भएपनि जिल्लाको एक मात्र नगरपालिकाले यस सम्बन्धमा  औपचारीक जानकारी दिएको छैन । नगरपालिकाको आधिकारीक वेवसाईटमा उल्लेख भएअनुसार माघ २९ यता नगरकार्यपालिकाको बैठकनै बसेको छैन ।

नगरपालिकाको तर्फबाट राहत तथा उद्धार गरिनुपर्ने भएपनि जनप्रतिनिधि आफैले व्यक्तिगत ढंगबाट राहत वितरण गर्ने र उद्धार गर्ने कार्यले एकआपसमा मतभिन्नता देखिएको बताईन्छ । सबै स्थानीय तहका कर्मचारी र सम्पुर्ण जनप्रतिनिधि एक जुट भएर विपद्को सामना गरिरहेका भएपनि नगरपालिकामा विवाद देखिनु लज्जासपद भएको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार