कोरोना संक्रमण रोकथाममा सोलुखुम्बुको कुन स्थानीय तहले के गर्दैछ ?

सोलुखुम्बु : कोरोना संक्रमणको जोखीम बढेसंगै सोलुखुम्बुमा हाल सम्म ३ सय ४१ बेडको क्यारेन्टाइन र ४८ बेडको आइसोलेसन वार्ड निमार्ण गरिएको छ । सबै स्थानिय तहहरुले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन वार्डहरु निर्माण गरेका हुन् ।

एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हाल सम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाईएको छ भने क्वारेनटाईनमा एक जनापनि राखिएको छैन । बैदेशिक रोजगारीबाट आएकाको एक्कीन विवरण नभएपनि १४ जनालाई जिल्ला अस्पताल फाप्लुका चिकित्सकको प्रत्यक्ष निगरानीमा सेल्फ होम क्वारेनटाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख (डिएसपी) टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो । डिएसपी लिम्बुका अनुसार हरेक दिन स्वास्थ्यकर्मीले टेलिफोन गरि स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छन् । विदेशबाट आउनेहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिका –

जिल्लाको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाले ३ वटा ८४ वेड क्षमताको क्वारेन्टाईन स्थापना गरेको छ । स्वास्थ्य संयोजक चमर मगरका अनुसार जिल्ला अस्पताल फाप्लुमा ७ वेडको आईसोलेसन वार्ड निर्माण गरेको नगरपालिका संग १ सय ७ थान पिपिइ र ३ थान गन फर फिवर रहेको छ ।

११ वटा वडा रहेको नगरपालिकाले सोेमबार देखी बजार क्षेत्रमा किटनासक औषधी छर्किरहेको नगर प्रहरी इन्चार्ज डिला कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको दमकलको प्रयोग गरि विभिन्न बजार क्षेत्रमा औषधी छर्केको हो ।

थुलुङदुधकोशी गाउँपालिका –

नगरपालिका पछिको दोस्रो ठुलो गाउँपालिका थुलुङ दुधकोशी गाउँपालिकाले प्रत्येक वडामा १५÷१५ बेड सहितको क्वारेन्टाइन र तीन स्थानमा ५ वेडको आइसोलेसन वार्ड निमार्ण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । यस गाउँपालिकामा ९ वटा वडा रहेको छ ।

यस्तै बैदेशिक रोजगारीबाट आएका ५ जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको अध्यक्ष राईको भनाई छ । टोलटोलमा माईकीङ गरेको गाउँपालिकाले बैदेशीक रोजगारीबाट आएकाको बारे जानकारी दिन व्यक्तिलाई रु.५ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ भने अति विपन्न परिवारलाई खाद्यन्न राहत प्रदान गर्ने निर्णय गरेको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धब ढुङगनाका अनुसार ३ थान पिपिइ, ३ थान गन फर फिवर र केही औषधी बाहेक स्वास्थ्य सामाग्री उपलब्ध छैन । गाउँपालिकामा हुन सक्ने संभावीत जोखीमलाई ध्यानमा राखेर आवश्यक उपकरण र औषधी ल्याउने विषयमा पहल भईरहेको गाउँपालिकाले जनाएको छ ।

नेचासल्यान गाउँपालिका –

नेचासल्यान गाउँपालिकाले १४ बेडको क्वारेन्टाइन र १३ बेडको आईसोेलेसन वार्ड निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

अध्यक्ष बास्तोलाका अनुसार बैदेशिक रोजगारीबाट आएका ३ जनालाई सेल्फ होम क्यारेन्टाइनमा राखिएको छ भने शंकास्पद बिरामी भेटिएमा तत्काल रेफर गर्नका लागी सवारीसाधन तयारी अबस्थामा राखिएको छ । ५ वटा वडा रहेको यस पालिका १० थान पिपिइ रहेको गाउँपालिकामा अन्य स्वास्थ्य सामाग्री भने प्रयाप्त नभएको स्वास्थ्य शाखाले जनाएको छ ।

महाकुलुङ गाउँपालिका –

जिल्लाको अति बिकट क्षेत्रमा पर्ने महाकुलुङ्ग गाउँपालिकामा ५ बेडको आइसोलेसन र २५ वेडको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । क्वारेन्टाइन र आइसोलेसन वाडमा खानेपानी, विद्युत तथा कपडाको व्यवस्था गरिएको उहाँको भनाई छ ।

बैदेशीक रोजगारीबाट आएका ३ जनालाई सेल्फ होम क्वारेनटाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । पाँच वटा वडा रहेको यस गाउँपालिकामा पिपिइ र गन फर फिवर नभएको स्वास्थ्य संयोजक आचार्यको भनाई छ । संक्रमणको जोखीम कम गर्न टोलटोलमा साबुन पानीको व्यवस्था गर्दै घरदैलो कार्यक्रम जारी राखिएको गाउँपालिकाले जनाएको छ ।

सोताङ गाउँपालिका-
यस गाउँपालिकाले ३ बेडको क्वारेन्टाइन र ४ वेडको आइसोलेसन वार्ड स्थापना गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले जानकारी दिनुभयो । पिपिइ र गनफर फिवर समेत नभएको यस गाउँपालिकाले भने अहिले सम्म बैदेशिक रोजगारीबाट आउनेको अवस्था समेत पहिचान गरेको छैन भने अन्य सचेतनाका कार्यक्रम समेत अन्य स्थानीय तहको तुलनामा गरेको छैन । यस गाउँपालिकामा पाँच वटा वडा रहेको छ ।

माप्य दुधकोशी गाउँपालिका –
माप्यदूधकोशी गाउँपालिकाले ५ वेडको क्वारेन्टाईन र ५ वेडकै आईसोलेसन वाड स्थापना गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । सात वटा वडा रहेको यस गाउँपालिकामा स्वास्थ्य सामाग्री र औषधी समेत नभएको बताईएको छ ।

सोमबार मात्रै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा २२ सदस्यीय समिती गठन गरेको योजना शाखा प्रमुख विनोद आचार्यले जानकारी दिनुभयो । यस्तै ६ वटा वडामा पनि वडा स्तरीय समन्वय समिति निर्माण गरिसकिएको बताईएको छ । वडा नम्बर ७ मा मंगलबार समिति गठन हुने गाउँपालिका प्रबक्ता तेजबहादुर मगरले जानकारी दिनुभयो ।

खुम्बुपासाङल्हामु गाउँपालिका-
विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बुपासाङल्हमु गाउँपालिकाले ९ वेडको आइसोलेसन वार्ड र ४ वटा क्वारेन्टाईन स्थापना गरेको गाउँपालिका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो । पाँच वडा वडा रहेको यस गाउँपालिका संग २५ थान पिपिइ, १० थान गन फर फिवर रहेको बताईएको छ ।

पर्यटकको अति चाप हुने यस गाउँपालिकाले सबैभन्दा पहिला स्वास्थ्य परिक्षणका लागि उपकरण ल्याएको थियो । तेञ्जिङ हिलारी बिमानस्थलमा हेल्थ डेक्स स्थापना गरि गाउँपालिका भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

लिखुपिके गाउँपालिका
पाँच वटा वडा रहेको यस गाउँपालिका संग कुनैपनि स्वास्थ्य उकरण नभएको बताईएको छ । २५ वेड क्षमताको क्वारेनटाईन र ८ वेडको आईसोलेसन वार्ड निर्माण गरि तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो ।

चार वटा एम्बुलेन्स तयारी अवस्थामा छ : स्वास्थ्य कार्यालय

कोरोना भाइरसको शंकास्पद बिरामीलाई आईसोलेसन वार्डसम्म पु¥याउनको लागि जिल्लामा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । सोलुदुधकुण्ड नगरपालिका, केरुङ्ग स्वास्थ्य चौकी, बेनी स्वास्थ्य चौकी र तल्लो सोलु हाईड्रोपावरको एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार