जगतले दिए थुलुङ दुधकोशी प्राविधिक शिक्षालयलाई निशुल्क जग्गा

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : थुलुङदुधकोशी प्राविधिक शिक्षालयलाई साढे सात रोपनी जग्गा निशुल्क प्राप्त भएको छ । स्थानीय जगतबहादुर राईले प्राविधिक शिक्षालयको नाममा बिहिबार जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमा निशुल्क रजिष्ट्रेशन पास गरिदिनुभएको कार्यपालिका सदस्य बुद्धिराज राईले जानकारी दिनुभयो ।

गाउँपालिका केन्द्र मुक्लीमा सञ्चालन हुने तीन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनको लागि यसै बर्ष प्राविधिक शिक्षा व्यवसायीक तालिम परिषद् (सिटिईभिटि)बाट संबन्धन प्राप्त भएको थियो ।

ग्रामीण क्षेत्रका विद्यार्थीलाई घरगाउँमै प्राविधिक शिक्षा दिने उदेश्यले स्थापना भएको शिक्षालयलाई निशुल्क जग्गा उपलब्ध गराउनु आफ्नो दायित्व समेत भएको जग्गा दाता जगत बहादुर राईको भनाई छ । गाउँका सर्वसाधरण नागरिकका छोराछोरीले शिक्षा लिने मात्रै नभए गाउँको बिकासको लागि आफुले सात लाख मुल्य बराबरको साढे सात रोपनी जग्गा रजिष्ट्रेशन गरिएको उहाँको भनाई छ ।

२१औ सताब्दीमा प्राविधिक शिक्षाको नारा चर्कने भएपनि गाउँगाउँ सम्म पुग्न नसकेको अवस्थामा मुक्लीमा स्थापना गर्न सफल भएको गाउँपालिका अध्यक्ष असिम राईको भनाई छ । सस्तो शुल्कमा दक्ष इन्जिनियर उत्पादन गर्ने गाउँपालिकाको योजना सफल पार्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत दिनुभएको छ ।

पहाडी क्षेत्रमानै पहिलोपटक शिक्षालय स्थापना भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । हरेक किसिमले नगरपालिका पछिको दोस्रोमा पर्ने थुलुङदुधकोशीले संघिय संरचना अनुसार गाउँपालिका केन्द्र, नाम, प्रशासकिन भवन निर्माण गरिसकेको छ ।

अहिले ५० शैयाको सुविधा सम्पन्न दुधकोशी सामुदायिक अस्पताल निर्माणको चरणमा रहेको छ । जसको डिबिसि सम्पन्न भईसकेको छ । अस्पताल निर्माणका लागि महायज्ञको आयोजना गरि रु.१२ करोड रकम संकलनको आभियान समेत जारी राखिएको छ । अस्पताल भवनको नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले सिलान्यास गर्नुभएको थियो ।

गाउँपालिकालाई हाल सम्म प्राप्त भएको जग्गाहरु
कात्तिक ४ गते स्थानीय एका बहादुर गुरुङले साढे १७ रोपनी जग्गा गाउँपालिकाको नाममा निशुल्क रजिष्ट्रेशन पास गरिदिनुभएको छ । यस्तै गाउँमै सुविधा युक्त स्वास्थ्य सेवा दिने गाउँपालिकाको योजना अनुसार सञ्चालन गर्न लागिएको दुधकोशी सामुदायीक अस्पतालको लागि स्थानीय भिमबहादुर राई, ललितबहादुर राई, सौबीर राईले करिब २३ रोपनी जग्गा निशुल्क रजिष्ट्रेशन पास गरिदिएका छन् ।
यस्तै प्रहरी चौकी भवन निर्माणका लागि पनि स्थानीयले करिब पाँच रोपनी जग्गा निशुल्क दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार