सोलुखुम्बु : महाकुलुङ चक्रपथ (रिङरोड) सडक निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भईरहेको उक्त रिङरोडको काम १० प्रतिशत मात्रै बाँकी रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । अनुगमनका क्रममा गुणस्तरीय काम भएको उहाँको प्रतिक्रिया छ ।
अध्यक्ष किराँतीका अनुसार गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको रिङरोडले गाउँपालिकाको पाँचवटै वडा केन्द्रलाई छुने छ । जसको दुरी ४१ किलोमिटर रहेको छ । २०७४ फागुन देखी निर्माण सुरु भएको रिङ रोड सम्पन्न गर्न रु.१० करोड लागात स्टामेट गरिएको छ । हाल सम्म साडे ७ करोड खर्च भईसकेको गाउँपालिकाले जनाएको छ ।
सडकको निरिक्षण पश्चात अबको २ महिना भित्र गौरवको आयोजना मध्ये एक वटा आयोजना रिङरोड निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष किराँतीले बताउँनुभयो । बाह्रै महिना सञ्चालन हुने दावी गरिएको रिङरोड निर्माण भएपछि गाउँपालिका केन्द्र आउँदा पाँच घण्टा सम्म हिड्नुपर्ने नागरिकको बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिएको छ । स्थानिय तहको निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसारनै काम भईरहेको भन्दै महाकुलुङबासीले स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । जनचहाना अनुसारको काम भईरहेको भन्दै संघियाताको आभाष भएको उनीहरुको भनाई छ ।
सदरमुकाम सल्लेरी देखी भौगोलिक रुपमा निक्कै टाढा एवम् बिकट गाउँपालिकाको रुपमा महाकुलुङ गाउँपालिकालाई लिइन्छ । स्थानीय तहको निर्वाचनका बेला सडक पहुँच नपुगेको यस गाउँपालिकामा डेढ बर्ष देखी हिउँदको समयमा सदरमुकाम सहित राजधानी सम्म सिधा सडक सञ्चालनमा रहेको छ । त्यस गाउँपालिका जानको लागि दुधकोशी नदि पार गर्नुपर्ने भएकाले हिउँदको समयमा ह्युम पाईप राखेर सिधा सवारी सञ्चालन गरिन्छ । पानीको बहाब पढेपछि ह्युम पाईप झिकेपछि सिधा सवारी आवगमन बन्द हुन्छ ।
यसरी सडक पहुँच पुग्नुका साथै स्थानीय सरकार गठन भएपछि सातुसामाल बोकेर सदरमुकाम सल्लेरी पुगेर बास बसेर सरकारी सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको वडा नम्बर ५ कि तारा कुलुङले बताउनुभयो । दुई दिनको पैदल यात्रा पछि सदरमुकाम पुग्ने महाकुलुङबासी अहिले एकै दिनमा सदरमुकाम सम्म पुगेर काम सकेर घर पुग्छन् । भरिया तथा खच्चडको भरमा व्यापार व्यवसाय गर्ने स्थानीयले समेत गाडी मार्फत सामान ढुवानी गर्दा निक्कै सहज र सरल पर्ने बताउँछन् ।
केहि दिन अगाडी मात्रै यस गाउँपालिकाले १५ शैयाको महाकुलुङ प्राथमीक अस्पतालको उद्घाटन गरेको छ । प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले उक्त अस्पतालको उद्घाटन गर्नुभएको हो ।