सोलुखुम्बु : सम्झौता भएको पाँच वर्ष बिते पनि जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको निर्माणाधीन भवन अलपत्र अवस्थामा । ठेकेदार कम्पनीको लापरबाही र निमनकारी निकायको मौनताका कारण उक्त भवन अलपत्र बनेको सर्वसाधरणको आरोप छ ।
वि.स २०७१ साल माघ २० गते २ वर्षमा निर्माण सक्ने गरि सम्भौता भएको भवन निर्माणको काम अझै २० प्रतिशत बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमिति प्रमुख कर्मचन्द्र राजबंशीले बताउँनुभयो । उहाँकाअनुसार लामो समयदेखि अलपत्र अवस्थामा छाडिँदा निर्माणाधीन भवनमा प्रयोग गरिएका काठ कुहिएर काम नलाग्ने अवस्थामा पुगिसकेको छ ।
निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले २०७५ सालको असार मसान्तसम्म भवन निर्माणको काम सक्ने बताउँदै आएको भए पनि त्यो वचन पूरा भएको छैन । कम्पनीले २ करोड ३८ लाख ३ हजार ५३ रुपैयाँ ३२ पैसाको लागतमा निर्माणको जिम्मा लिएको थियो । निर्माण समपन्न गर्नुको सट्टा भवन अलपत्र अवस्थामामा छाडेर निर्माण व्यवसायीनै बेपत्ता बन्दा कार्यालय सञ्चालनमा समेत समस्या झेल्नुपरेको निमित्त प्रमुख राजबंशीको भनाइ छ ।
निर्माण कम्पनीले समयमा भवन निर्माण गर्न नसकेको खण्डमा कार्यालयले तिर्नुपर्ने भाडासमेत ठेकेदार कम्पनीले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ’सम्झौता कार्यान्वयन गर्नु त होइन, ठेकेदार युवराज डाँगीलाई हामीले फोन गर्दासमेत उठाउँनुहुन्न’ निमित्त प्रमुख राजबंशीले गुनासो गर्नुभयो, ’अहिले हामीले वार्षिक ४ लाख भाडा तिरिरहेका छौँ, यो राज्यलाई ठूलै घाटा हो ।’ निजी घरमा रहेको हालको कार्यालयमै घरधनीसमेत बस्दा अनेकौ समस्या आउने गरेको उहाँको भनाइ छ । ’घरबेटी हामीसँगै बस्नुहुन्छ, बिदाको दिन पनि गेट खुल्ला हुन्छ’ निमित्त प्रमुख राजबंशीले भन्नुभयो, ’सुरक्षाको दृष्टिकोणले जोखिम छ ।’
यस विषयमा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएको भए पनि त्यसको कुनै पनि जवाफ नआएको उहाँको भनाई छ । निलगिरि कम्पनीबाट पेटी ठेकेदार स्थानीय बुद्धि मगरले १ करोड ७० लाखमा निर्माणको जिम्मा लिएका छन् । पेटी ठेकेदार मगरले समेत काम गरेअनुसार कम्पनीमार्फत भुक्तानी नपाएको गुनासो गरे । यता निलिगिरी कम्पनीका प्रमुख युवराज डाँगीसँग फोन सम्पर्क गर्दा फोन उठेन ।