प्रमुख सचेतक राजभण्डारीको पहलमा फाप्लु अस्पताललाई रु.३० लाखको उपकरण

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुलाई रु.३० लाख बराबरको उपकरण प्राप्त भएको छ । प्रदेश सांसद तथा नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लव ईन्टरनेश्नलले प्रसूतीका लागि अतिआवश्यकीय १२ प्रकारको उपकरण प्रदान गरेको हो ।

उपकरण हस्तान्तरण गर्दै लाईन्स क्लव ईन्टरनेश्नल ३२५ ए वानका पुर्व गर्भनर अनन्त भेटवालले हिमाली जिल्ला सोलुखुम्बु विश्वकै आर्कषणको केन्द्र भएकाले सहयोग गरेको बताउँनुभयो । उहाँले पर्यटनको आर्कषणको केन्द्र सोलुखुम्बुलाई हरेक सेवा सुविधाको हिसाबले अब्बल बनाउनु आजको आवश्यकता भएको बताउँनुभयो ।

उपकरण ग्रहण गर्दै फाप्लु अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख वीर कुमार राईले लाईन्स क्लवको सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले हिमाली जिल्ला दुर्गम जिल्लामै पर्ने भएकाले पनि यहाँका जनता स्वास्थ्य लगायत अन्य अतिआवश्यक सेवाबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताउँनुभयो ।

अत्याधुनिक उपकरणको प्रयोगले जिल्लाको मातृशिश मृत्युदर कम हुने भएकाले क्लवले ठुलो पुण्यको काम गरेको अध्यक्ष राईको भनाई छ । लाईन्स क्लव अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुदै सोलुखुम्बु सम्म ढुवानीको जिम्मेवारी लाईन्स क्लव काठमाण्डौले गरेको छ ।

अत्यन्तै संबेदनशिल उपकरण भएकाले पोखराबाट सोलुखुम्बु सम्म ढुवानी गर्न करिब १ लाख २५ हजार रुपैया बराबर खर्च भएको लाईन्स क्लव काठमाण्डौका सभापति राजेन्द्र कोईरलाले बताउँनुभयो । जनशक्ति भएपनि उपकरण नहुँदा यहाँका अधिकांश महिला ओखलढुंगाको मिसन अस्पताल या काठमान्डौ लगाएत जानुपर्ने बाध्यता छ ।

प्रदेश संसाद एवम् नेपका प्रदेश १ का संसदिय दलका प्रमुख सचेतक राजभण्डारीले जिल्लाबासीलाई सहज स्वास्थय सेवा उपलब्ध गराउने उदेश्यले पहल गरेको बताउँनुभयो । उपकरण अभावमा जिल्लाका अधिकांश महिलाहरु प्रसूतीकै लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरि पहल गरिएको भन्दै गुणस्तरीय सेवा प्रवाहको बिषयमा समेत पहल भईरहेको बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार