हेलिकोप्टरबाट जस्तापता खसेपछि स्थानीय नागरिक त्रसित

सोलुखुम्बु : उडिरहेको हेलिकोप्टरबाट ठुलो परिमाणको जस्तापता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । बस्ती माथिबाट बारम्बार झुण्ड्याएर कार्गो ढुवानी गरिरहेको हेलिकोप्टरबाट सामाग्री खसेको थाहापाएपछि हवाई मार्गका नागरिक त्रसित बनेका हुन् । गएको शनिबार मात्रै सोलुदुधकुण्ड नगरपालिका १ को लुङ्दीङ जंगलमा उडिरेको कैलास एयरको हेलिकप्टरबाट करिब ६ सय केजी जस्तापाता सहित दुई रोल म्याट्रीक्स खसेपछि स्थानीयमा त्रास र आक्रोश दुवै पैदा भएका छ । टाक्सिन्दुका कुमार विश्कर्माले बारम्बार सामाग्री खस्ने गरेको भएपनि संबन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे । उनले जंगलमा खस्ने सामाग्री जुनैबेलापनि बस्तीमा खस्ने र ठुलो क्षती हुने भन्दै चिन्ता व्यक्त गरे ।

सोही गाउँका टेण्डी शेर्पाले सुरक्षीत ढुवानीको लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफुहरुको सुझाव कार्यान्वयन नभएको प्रति आक्रोस समेत व्यक्त गरे । उनले सुरक्षीत ढुवानी गर्ने तर्फ कम्पनीले ध्यान नदिई कुनैपनि मानवीय क्षती भएमा त्यसको जिम्मेवारी नियमनकारी निकायले लिनुपर्ने भन्दै त्यस बेलाको परीस्थिति फरक हुने चेतावनी समेत दिए ।

नागरिकको जिउधनको सुरक्षा गर्ने निकाय समेत मौन बसेको प्रति उहाँले प्रश्न गर्दै भने, “नियम कानुन नभएको देश त होईन होला, मापदण्ड होला, आधार होला किन यसरी बारम्बार सामान सस्दा समेत मौन बसेको ?” नियमनकारी निकायको मौनता कायम रहे आफुहरु चुप लागेर नबस्ने उनको दावी छ ।   सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु डाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माण लगाएत दैनिक उपभोग्य बस्तु ढुवानी भईरहेको छ । निर्माण सामाग्री सहित काठ समेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखीम बढ्ने स्थानीयको भनाई छ । आपूmहरुलाई असुरक्षा भएको भन्दै बारम्बार आवाज उठाउँने गरेको भएपनि सुनुवाई नभएको टेण्डि शेर्पाले बताए ।

स्थानीय सरकारको यस्तो छ भनाई 
खुम्बु क्षेत्रको लागि आवश्यक सामाग्री सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुबाट ढुवानी हुँदै आएको छ । नेपाल नागरिक उड्डयान ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षा अन्तरगत खनतलासी गर्नुपर्ने दफा १ मा बिमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनैपनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउँनु वा वायुयानबाट ओसारप्रसार गर्नुगराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ ।   तर यहाँ प्रहरी प्रशासन देखी नागरिक उड्यायन प्राधिकरणका कुनैपनि कर्मचारी देखिदैन । नागरिक उड्यायन प्राधिकरणले सामाग्री ढुवानीको लागि केही समयको लागी सर्तसहित अनुमति प्रदान गरेपनि त्यसको अनुगमन गर्ने कुनैपनि निकाय नहुँदा नियम विपरित कार्य भईरहेको स्थानीयको दावी छ ।

स्थानीय प्रशासन संग समन्वय गरि उडान तथा अवतरण गर्नुपर्ने व्यहोराको अनुमति पत्र भएपनि यहाँका स्थानीय प्रशासनलाई सो बारे जानकारी समेत हुँदैन । आफ्नो क्षेत्र भित्र भईरहेको  गतिविधिको बिषयमा प्रत्यक्ष निगरानी राख्ने क्षमता सहितको स्थानीय सरकार समेत रमिते बनेका छन् । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले उडान तथा अवतरणको बिषय आफुहरुको क्षेत्रअधिकार भित्र नभएको बताउनु भयो । नगरपालिकाका नागरिकले असुरक्षित भएको महशुस भएको बिषयमा भने संबिन्धित निकाय संग समन्वय गर्ने भन्दै सञ्चारकर्मीलाई दरिलो आवाज उठाई दिन माग गरे । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रबक्ता लाक्पाछिरि शेर्पाले भने आफ्नो गाउँपालिकामा सडकको पहुँच नपुगेकाले हेलिकोप्टरबाट सामान ढुवानीको कुनै बिकल्प नभएको बताउनु भयो  । ढुवानीको अन्य बिकल्प नभएपनि स्थानीय नागरिकले सुरक्षाको प्रत्याभुति भने गर्नुपर्ने भन्दै यस तर्फ संबन्धित कम्पनीले ध्यान दिनुपर्ने बताउनु भयो  ।

नियमनकारी निकायको एक्सन 
नेपाल नागरिक उड्डयान ऐन २०७३ को परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बेगर त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको सर्तको विपरित हुने गरि वायुयान सञ्चालन गरेमा एक लाख देखी १० लाख सम्म जरिवाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ । तर यहाँ कार्वाही सट्टा देखेपनि नदेखेझै गरेर बस्नेगरेको स्थानीय लाक्पा शेर्पाले बताए । गत भदौ १९ गते उडिरहेको कैलास एयरकै हेलिकोप्टरबाट सोलुदुधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगाएतको सामाग्री खसेको थियो । त्यस बेलापनि जिल्ला प्रशासन कार्यालयमै फोन सम्पर्क गरि स्थानीयले असुरक्षित भएको भन्दै प्रशासनको ध्यानकर्षण गराएको भएपनि कुनैपनि कार्वाहीको निर्णय  भएन ।

गत शनिबार जस्तापाता खसेको बिषयमा छानबीन गर्न समितिनै गठन भएपनि समितिको प्रतिवेदन चित्तबुझ्दो आउँनेमा यहाँका नागरिकले शंका व्यक्त गरेका छन् । पाईलट गुन्जमान लामाको नेतृत्वमा गठित ३ सदस्य टोलिले आईतबार हेलिकोप्टर मार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्यायन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो  । छानबीन समितिका संयोजक लामा सहितको टोलिले कैलाश एयरकै हेलिकोप्टर प्रयोग गरेर निरिक्षण गरेको थियो । आकाशबाटै घटनास्थलको निरिक्षण  गरेको टोलिले अहिले प्रतिवेदन तयार गरिरहेको बताएको छ । समितिका संयोजक लामाले मापदण्डअनुसारनै ढुवानी भईरहेको भन्दै कम्पनिको बचाउमा लाग्नुभयो । सामान बोक्न प्रयोग गरिएको जालि च्यातिएर सामान झरेको भन्दै उनले घटनाको बिषयमा प्रतिवेदन तयार भईरहेको बताउनु भयो  ।

यता घटना भएपछि प्रहरी प्रशासनको तर्फबाट कार्गो ढुवानी तत्कालको लागि बन्द गरिएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक टेकुनन्द इवा लिम्बुले बताउनु भयो  । “छानबीन समितिले तयार गर्ने प्रतिवेदन एउटा होला ।” लिम्बुले भने, “हाम्रो सुरक्षा समितिको बैठकले पनि आवश्यक छलफल पछि निर्णय गर्छौ, अहिलेलाई ढुवान बन्द गरिएको छ । यस बिषयमा कैलाश एयरका जनरल म्यानेजर प्रताप जंग पाण्डे संग बारम्बार कुराकानी गर्न खोज्दा फोन रिसिभ भएन भने नागरिक उड्यायन प्राधिकरणका महानिर्देशकलाई समेत बारम्बार सम्पर्क गर्दा फोन रिसिभ भएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार