उडिरहेको हेलिकोप्टरबाट सामाग्री खस्यो, तथ्य लुकाउने कम्पनीको प्रयास

घना जंगलमा भएकाले मानवीय क्षती भएन

सोलुखुम्बु : उडिरहेको हेलिकोप्टरबाट निर्माणका सामाग्री खसेको छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गो सहित उडेको हेलिकोप्टर बाट उक्त समाग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होईन ।

प्रहरी निरिक्षक महेन्द्र दर्नालका अनुसार शनिबार बिहान १०ः३६ बजे सोलुदुधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोला जंगलमा २ रोल म्याटीस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो । कैलाश एयरको ९ एनएएमटीको हेलिकोप्टरले दिङ्बुचेका कुलबहादुर तामाङको निजि सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो ।

यस बिषयमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रा.लि.का जनरल म्यानेजर प्रतापजंग पाण्डेले भने आफु नेपाल बाहिर भएकाले जानकारी नभएको भन्दै आफ्नो कम्पनीको कम्जोरी लुकाउन खोज्नुभयो । टेलिफोन संबादमा उहाँले आफुले घटनाको बिषयमा केही पनि जानकारी नभएको भन्दै अन्य कसैको सम्पर्क नम्बर उपलब्ध गराउँने बताएपनि लामो समय सम्म उपलब्ध गराउँनुभएन ।

कानुन विपरित काग्र्रो ढुवानी

खुम्बु क्षेत्रको लागि आवश्यक सामाग्री ढुवानमा प्रयोग हुँने सानो हेलिकोप्टरले झुण्डाएर ढुवानी गर्छ । तर उडान हुँने स्थलमा कुनै सुरक्षा जाँच भने हुँदैन । नेपाल नागरिक उड्डयान ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षा अन्तरगत खनतलासी गर्नुपर्ने दफा १ मा बिमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनैपनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउँनु वा वायुयानबाट ओसारप्रसार गर्नुगराउनु हुँदैन ।

यस्तै सोही ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बेगर त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको सर्तको विपरित हुने गरि वायुयान सञ्चालन गरेमा एक लाख देखी १० लाख सम्म जरिवाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ ।

नियमनकारी निकायको मौनता, हेलिकोप्टरको मनोमानी उडान

विगतको दिनमा पनि यस्ता घटना भईरहेको भएपनि नियमनकारी निकाय मौन बसेको स्थानीयको दावी छ । हवाई उडानकै कारण असुरक्षीत महशुस भईरहेको भन्दै स्थानीयले प्रहरी प्रशासनलाई गुहार मागेको भएपनि हाल सम्म यस बिषयमा कुनै निर्णय भएको छैन । गत भदौ १९ गते बिहिबारका दिन उडिरहेको कैलास एयरकै हेलिकोप्टरबाट सोलुदुधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगाएतको सामाग्री खसेको थियो ।

शनिबारको घटना घना जङ्गलमा भएकाले मानवीय क्षती भने नभएको लुक्ला बिमानस्थलका प्रमुख इमनाथ अधिकारीले बताउँनुभयो । तर कनुै मानव बस्तीमा उक्त घटना भएको भए ठुलै क्षती हुने अधिकारीको भनाई छ । उहाँका अनुसार उक्त हेलिकोप्टर लुक्ला बिमानस्थलको हेलिप्याडमा सकुशल अवतरण गरिएको छ ।

हेलिकोप्टर कम्पनीको दादागिरिलाई स्थानीय प्रशासन तथा विभागले समेत सहयोग गरिरहेको स्थानीय पासाङ शेर्पाले बताउँनुभयो । यता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले भने यस घटनालाई गम्भिर रुपमा लिएको भन्दै प्रहरीको स्थलगत रिपोर्ट पछि थप निर्णय गर्ने बताउँनुभयो । संवेदनशिल घटना घटेको भन्दै प्रहरी टोलि घटनास्थल तर्फ जाँदै गरेको उहाँको भनाई छ । घना जंगलमा उक्त सामाग्री खसेकाले प्रहरी पुग्न कठिन भएको बताईएको छ ।

नेपाल नागरिक उड्ययान प्राधिकरणका उपमहानिर्देशक एवम् प्रबक्ता राजकुमार क्षेत्रीले भने आईतबार आकस्मीक बैठक बसेर निर्णय गरिने बताउँनुभयो । घटनाको बिषयमा लिखित जानकारी प्राप्त भएकाले समस्याको दिगो समाधान तर्फ लाग्ने बताउँनुभयो । ऐन तथा नियमावलीमा उल्लेख भएअनुसार कार्वाही प्रक्रिया अगाडी बढाउँने भन्दै उहाँले विमानस्थलबाटै उडान गर्ने गरि निर्णय गर्न सकिने बताउँनुभयो । बारम्बार घटना भएको जानकारी आएकाले नियम अनुसार प्रक्रिया अगाडी बढाउन नागरिक उड्यायन कार्यलय गम्भिर भएर लाग्ने बताउँनुभयो ।

जिल्लाको माथिल्लो खुम्बु क्षेत्रमा सडक पहुँच नभएकाले सामान ढुवानी गर्ने सहज माध्यमनै हेलिकोप्टर रहेको छ । तर उनीहरुले नियम विपरित मनोमानी उडान तथा अवतरण गर्दा त्यस क्षेत्रका स्थानीय देखी बन्यजन्तुलाई समेत असर परेको सगरमाथा राष्ट्रिय निकुञ्जका नाम्चेका प्रमुख भुमिराज उपाध्ययले बताउँनुभयो । उहाँका अनुसार उडान तथा अवतरण बापतको राजश्व समेत उठ्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार