काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको विरोधका कारण शुक्रबारको संसद बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ । ललितानिवास प्रकरणमा आफ्ना नेतामात्रै दोषी देखाइनु राजनीतिक प्रतिशोध भएको भन्दै संसदमा उभिएर मौन विरोध गरेपछि बैठक स्थगित भएको हो ।
पछिल्लो समय विवादित बनेको ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका सांसद विजय गच्छदारसहित १७५ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता गरेपछि नेपाली कांग्रेसले सडक र सदनमा विरोध सुरु गरेको छ । सडकमा उत्रिएर निरन्तर धर्ना र आन्दोलन चलाउने चेतावनी दिएको कांग्रेसको विरोधका कारण संसद समेत अवरुद्ध बनेको हो । अख्तियार दुरुपयोग गर्नुपर्ने अरु निकायको अध्ययन गर्नुपर्ने आयोगले आफ्नो अख्तियारको दुरुपयोग गरेको कांग्रेसको ठहर छ ।
विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन् । अख्तियारले सरकारसँगको मिलेमतोमा निष्पक्ष निर्णय नगरेको भन्दै आयोगको कार्यालय अगाडि नै विरोध प्रदर्शन गरेको हो । निर्णय गर्ने नेकपाका वरिष्ठ नेता, माधव नेपाल, मुख्य सचिव, महासचिव विष्णु पौडेल र उनका छोरालाई पनि कारवाही हुनुपर्ने कांग्रेसको माग छ ।