काठमाडौं – समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पार्टी एकताको बहस लामो समयसम्म चलेपनि सम्भव भएको छैन् ।
पार्टी एकता गर्ने सन्दर्भमा पत्रहरु साँटासाँट भएपनि एकता सम्भव भएको थिएन् । राजपाले पार्टी एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने शर्त अघि सारेपछि एकता प्रकृया अगाडी बढ्न सकेको थिएन् । तर समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले राजपाको शर्त अनुसार नै सरकारबाट बाहिरिएको भएपनि राजपाले बोलचाल नै बन्द गरेको आरोप लगाउनुभएको छ ।
नेपाल मधेशी निजामति कर्मचारी मञ्चको १३ औं स्थापना दिवकसा अवशरमा यादवले पार्टी एकताका लागि भनेर राजपाको शर्त अनुसार सरकार त्यागेपनि अहिले कुरा नै हुन नसकेको बताउनुभयो ।
‘‘पार्टी एकताका सबै कुरा टुंगो लागेपनि साना प्राविधिक कुरामा त्यतीबेला रोकिएको थियो । राजपाले सरकार त्याग्नुपर्ने मुख्य शर्त राखेको थियो । तर अहिले सरकार त्यागेपछि राजपा भागिरहेको छ’, उहाँले भन्नुभयो, ‘सरकारमा हुँदा बोलचाल त हुन्थ्यो । तर अहिले भागे । खोज्दै गएको छु । पिछा गर्दै गएको छु भागिरहेका छन् ।’’
आफुहरुले सरकार छाडेको भोलिपल्ट एकता घोषणा हुने विश्वास लिएपनि भेटघाट नै बन्द भएको उहाँले बताउनुभयो ।राष्ट्रिय जनता पार्टी राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले द्वन्द्वकालमा एक अर्कालाई छातीमा गोली हान्ने एमाले र माओवादीको एकता सम्भव भएको अवस्थामा समाजवादी र राजपाको पनि एकता सम्भव रहेको बताउनुभएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि पनि दुई पार्टीको एकता अनिवार्य रहेको उहाँले बताउनुभयो । सत्तारुढ दलले अहिले दुई पार्टी सिस्टमको अवधारणा ल्याएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, ‘कांग्रेस र कम्युनिष्टको विकल्प हामी दुवैपार्टी जो मुलधारको राजनीतिमा आयौं सबले बलिदान दियौं यो संविधानको उपस्थिति छ तर उपलब्धी छैन यसलाई संस्थागत गर्नु छ संघीय लोकतान्त्रीक गणतन्त्रलाई यसलाई बचाउनको पनि संघीयतालाई बचाउनको लागि पनि दुवै पार्टीको एकता अनिवार्य छ आवश्यक छ ।’
उहाँले देशमा वैकल्पिक पार्टी निर्माणका लागि मधेशी पार्टीले मधेशको १० जिल्लामा मात्रै सिमित रहेर नुहने बताउनुहुँदै मधेशी पार्टीहरुले आदिवासी जनजाती खस आर्य उत्पीडन विभेदमा परेका समुदायहरुको एउटा वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कम्युनिष्ट पार्टी र कांग्रेससँग विचार व्यवहार, नीति र सिद्धान्तमा परिवर्तनका लागि एकताका लागि हिमालबाट पार्टी उठ्नुपर्ने र मधेशमा पुग्नुपर्ने बताउनुभयो ।