प्रचण्डलाई गुट चलाएको आरोप

काठमाडौँ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् नेकपा प्रचार प्रसार विभागका उपप्रमुख सुर्य थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट चलाएको लिखित आरोप लगाउनु भएको छ ।

प्रचण्डको नाम नलिइ थापाले उहाँलाई  इंगित गर्नुभएको हो । केन्द्रीय कमिटीको जारी बैठकमा २९ बुँदे लिखित सुझाव राख्दै थापाले पार्टीमा गुटबन्दी भयो भन्दै व्यवहारमा गुटबन्दीको व्यापक अभ्यास भइरहेको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई घेराबन्दी र असफल पार्ने गरी भैसेपाटी खुमालटार वा अन्यत्र समेत बैठक भइरहेको उहाँले बताउनुभएको छ । पुस २३ गते नेकपाका सचिवालय सदस्य वामदेब गौतमको घरमा पार्टी अध्यक्ष प्रचण्ड वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएका हुनुभएको थियो।

त्यो भेलालाई प्रधानमन्त्री निकटका नेताहरुले ओलीविरुद्धको गुटबन्दी भन्ने गरेका छन् भने कार्यकारी अध्यक्ष भएर प्रचण्ड गुटको मात्रै नेता बन्न खोजेको आरोप लगाएका छन्।

थापाले एकताबद्ध ढंगले पार्टी अघि बढ्नुको सट्टा समुहका बैठकहरु गरेको र दाउपेच तथा चलखेलमा लागेको बताउनुभएको छ। पार्टी एकताको बेलादेखि निर्णय प्रक्रियामा सहमतिका साथ अगाडि बढ्ने समझदारी र निर्णयलाई कडाईका साथ व्वयवहारका लागु गर्न समेत थापाले माग गर्नुभएको छ।

दुई पार्टीको एकता केपी ओली र प्रचण्डको दृढ लचक र निर्णायक पहलकदमी तथा जोखिमपूर्ण निर्णय लिनसक्ने क्षमताका कारण सम्भव भएको भन्दै थापाले यसलाई अन्यथा ढंगले अघि बढाउन वा चलखेल गरेर कब्जाको योजनाका साथ कोही पनि अघि बढ्न उपयुक्त नहुने उल्लेख गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार