ओटावा : क्यानडाका प्रधानमन्त्री लगायतका पश्चिमी दुनियाँका कतिपय नेताले गएको बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको युक्रेनको विमान इरानको मिसाइलका कारण दुर्घटनामा परेको दाबी गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेऊले त आफूसँग प्रमाण रहेको पनि बताउनुभएको छ। उहाले इरानको गल्तीका कारण सो दुर्घटना भएको उल्लेख बताउनुभयो । क्यानडा र बेलायतले सो घटनाको पूर्ण जाँचको माग गरेका छन् ।
बुधबार बिहान तेहरान विमानस्थलबाट सो विमान उड्नासाथै दुर्घटनामा परेको बताइएको थियो । उक्त विमानमा रहेका १७६ मानिसको मृत्यु भएको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिनले आफूलाई कैयौं खुफिया सूत्रहरुले सो विमान इरानको जमिनबाट हावामा प्रहार गर्ने मिसाइल प्रहारका कारण भएको बताएको उल्लेख गर्छनुभएको छ ।
विमानमा क्यानडाका मात्रै ६३ नागरिक थिए । उनीहरु सबै टोरन्टो गइरहेका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि क्यानडाका प्रधानमन्त्रीको भनाइमा सहमति जनाउनुभएको छ।
यो भन्दाअघि अमेरिकी मिडियाले इरानको गल्तीका कारण युक्रेनको विमान दुर्घटनामा परेको जनाएका थिए । अमेरिकी न्यूज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीले युक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ ७३७ विमान इरानको मिसाइलका कारण दुर्घटनामा परेको जनाएका छन् ।
इरानले चाहिँ यो आरोपलाई अफवाह भनेको छ । यद्यपि युक्रेनले संयुक्त राष्ट्रसंघ समक्ष विमान दुर्घटना जाँचको माग गरेको छ । युक्रेनले मिसाइल लागेका कारण विमान दुर्घटना भएको हो कि होइन भन्ने बारेमा आफूले जाँच गरिरहेको जनाएको थियो । सो आशंकालाई यसअघि नै इरानले अस्वीकार गरेको थियो ।
इरानले जब इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो त्यस लगत्तै युक्रेनको विमान दुर्घटनामा परेको थियो । सीबीएस न्यूजले अमेरिकी खुफिया विभागको हवाला दिँदै एक सेटलाइटबाट दुई मिसाइल लन्च गरिएको इन्फारेड ब्लिप्स देखिएको थियो र लगत्तै विस्फोटको पनि एक ब्लिप देखिएको जनाएको छ ।
यसैबीच न्यूजविक म्यागेजिनले अमेरिकी रक्षा मन्त्रालय, अमेरिकी खुफिया विभाग र इराकी खुफिया विभागका अधिकारीको हवाला दिँदै सो विमान रुसमा निर्मित टोर मिसाइलसँग ठोक्किएको जनाएको छ । (एएफपी)