तीनकुने–कोटेश्वर जाम खुलाउने ३ विल्कप

काठमाडौं : सवारीको बढ्दो चाप र अर्को बाटोको विकल्प नभएका कारण वर्षौंदेखि जामको चपेटामा परेको तीनकुने–जडीबुटी सडकखण्ड काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि पनि गम्भीर चुनौती बनेको छ ।

विशेष गरी कार्यालय समय बिहान–बेलुकी यो क्षेत्रमा हुने जाम हटाउन ट्राफिक प्रहरीलाई पनि हम्मे हम्मे पर्छ भने सर्वसाधारण र कर्मचारीलाई समयमा कार्यालय पुग्न गाह्रो भइरहेको छ । यहाँ सवारी साधनहरु २ देखि ३ घन्टासम्म जाममा बस्नुपर्ने अवस्था छ ।

सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ । त्यसैले यसको समाधानका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो । जाइकाले यसबारे प्रारम्भिक अध्ययन पूरा गरी दुई महिना अगाडि नै सरकारलाई प्रतिवेदन बुझाएको छ । उसको प्रतिवेदनमा जाम हटाउनका लागि तीन विकल्प सुझाइएका छन् ।

जाइकाले तीनकुनेपट्टिबाट बालकुमारी जाने रिंगरोडमा फ्लाइओभर बनाउने पहिलो विकल्प प्रस्ताव गरेको छ । यो फ्लाइओभर १.३ किलोमिटर लामो हुने अनुमान छ । यसको निर्माणमा ९ अर्बभन्दा बढी लाग्ने अनुमान छ । अर्को विकल्प चोक वारपार गर्ने गरी सुरुङमार्ग बनाउन सकिने पनि अध्ययनले देखाएको छ । तर यो अझ खर्चिलो हुने अनुमान छ ।

यी दुई फ्लाइओभर वा सुरुङ बनाउँदा रिंगरोडमा गुड्ने सवारी जाममा बस्नुपर्ने छैन भने भक्तपुरतर्फ जाने सवारी पनि निरन्तर आफ्नो बाटोमा गुड्न पाउनेछन् । कोटेश्वरबाट जडिबुटीसम्म जाने साँघुरो सडकखण्डलाई एयरपोर्टतर्फको केही भाग लिएर सडक बनाउन जाइकाले सुझाएको छ । यसो गर्दा जडीबुटीबाट कोटेश्वरसम्मको ‘बोटलनेक’ खुल्नेछ ।

तेस्रो विकल्प भने तीनकुनेबाट सीधै जडिबटी निस्कने सुरुङमार्ग हो । यो पनि करिब १.२ किलोमिटर लामो हुने अनुमान छ । करिब २४ अर्ब लागतमा दोहोरो सुरुङमार्ग बनाएपछि रिंगरोडलाई अहिलेकै हालतमा छोड्न सकिने जाइकाको अध्ययनले देखाएको छ ।

तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुनिबाट सुरुङमार्ग बनाउन नदिने बताउँदै आएको छ । यसले विमानस्थललाई असर पर्ने ठहर उसको छ । प्राधिकरणले जडिबुटीतर्फको सुरुङ बनाउन नदिए पनि रिंगरोडको दिशामा सुरुङ वा फ्लाइओभर बनाउने विकल्प खुला रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार