दैनिक खाद्यान्न महँगो भएपछि, यस्तो छ विभागको तयारी

काठमाडौं : दैनिक उपभोग्य खाद्यबस्तु एकाएक महँगो भएको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज खुद्रा, थोक र उत्पादक उद्योगका सञ्चालकलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ ।  पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ ।

जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपियाँदेखि २०० रुपियाँसम्म महँगो भएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले दैनिक उपभोग्य वस्तुको मूल्य विश्लेषण गर्ने सरकारको संयन्त्र नबन्दा बजारमा उत्पादन उद्योग र व्यापारीको मनोमानी बढेको बताउनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका बजार अनुगमन अधिकृत दीपक पोखरेलले उपभोक्ताको गुनासोका आधारमा बजार अनुगमन गर्दा बजारमा भाउ महँगो भएको पाइएको र यस बिषयमा आजनै छलफल गरीने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार