घटेन विषादीको प्रयोग

काठमाडौं : ‘विषादी विष हो, औषधि होइन’ सरकारले यो नारा दिएर विषादी प्रयोगमा सचेतना अपनाउन वर्षौंदेखि अभियान चलाउँदै आएको छ तर विषादी प्रयोग तथा आयातमा कमी हुनुको सट्टा बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सन् २०१३ देखि विषादीमुक्त सप्ताह अभियानकै रूपमा मनाउँदै आएको छ । अभियान चलाए पनि यसको आयात तथा प्रयोगमा कुनै सुधार नआएको केन्द्रका निमित्त प्रमुख सहदेव हुमागाईंले पनि पुष्टि गर्नुभयो ।

केन्द्रले पुस २२ गतेदेखि साताव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रम आयोजना गर्नुको पूर्वसन्ध्यामा केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्याङ्कले नेपालमा विषादी प्रयोगको अवस्था विकाराल रहेको देखाएको छ । नेपालमा छ वर्षमा मात्र तीन अर्ब २१ करोड ७१ लाख ८८ हजार ४७ रुपियाँ .०५ पैसाको विषादी आयात भएको छ । गत वर्षको तथ्याङ्क हेर्दा नेपालमा ६३२.४१ टन खास आयात भएको देखिन्छ । जसमा कीटनाशक २१६ टन, रोगनाशक २६८ टन, झारनाशक १४२ टन र अन्य विषादी पाँच टन आयात भएको देखिन्छ । त्यसका लागि करिब ८४ करोड रुपियाँ गत वर्ष खर्च भएको देखिन्छ ।

२०६९÷७० मा चार लाख १० हजार ३२७ केजी खास विष आयात भएको थियो । २०७०÷७१ मा त्यो बढेर चार लाख ५४ हजार ५९५ केजीमा पुग्यो । २०७१÷७२ मा त पाँच लाख ४९ हजार ९६५ केजी पुग्यो । यसरी वर्षौं बढ्दै गएपछि २०७४÷७५ सम्म आइपुग्दा छ लाख ३२ हजार ४१९ केजी पुग्यो । अर्थात् सरकारले यसको नियन्त्रण गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दछ तर त्यो नियन्त्रणको सट्टा बढ्दै गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर रहेको छ ।

केन्द्रका प्रमुख हुमागाईंले अरू देशको तुलनामा नेपालमा विषादीको मात्रा कम छ तर यहाँ प्रयोग गर्ने तरिका नजानेर मात्र भयावह अवस्थामा पुगेको बताउनुभयो । उत्तर कोरियामा प्रतिहेक्टर १६ केजी, चीनमा १२ केजी र अमेरिकामा १.५ केजी विषादी प्रयोग हुन्छ तर त्यहाँ केही हुँदैन तर नेपालमा प्रतिहेक्टर ३९६ ग्राम मात्र खास विष प्रयोग हुन्छ तर अवस्था नराम्रो भएको छ ।

नेपालमा ८५ प्रतिशतभन्दा बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुन्छ । १५ प्रतिशत धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा प्रयोग हुने गरेको छ । यसबाट पुष्टि हुन्छ कि तरकारीको माध्यमबाट सीधै उपभोक्ताका भान्साघरसम्म विषादी पुग्छ । उहाँले भन्नुभयो, किसानले तरकारीमा विषादी प्रयोग गर्छ तर प्रयोग गर्ने तरिका नजानेका कारण धेरैले दुःख पाएका छन् । एक अध्ययन अनुसार तरकारीमा १.६ केजी विषादी प्रतिहेक्टरमा प्रयोग भइरहेको छ । यो मात्रा निकै नै बढी हो ।

तरकारीमा यतिको मात्रामा विषादी प्रयोग गर्दा उत्पादनमा वृद्धि हुनुपर्ने हो तर त्यस्तो देखिएको छैन । विषादी प्रयोग वार्षिक रूपमा बढ्दै गइरहेको छ तर एक तथ्याङ्क अनुसार २०५९÷६० मा तरकारीको उत्पादकत्व दर १० हजार ८४४ केजी प्रतिहेक्टर थियो भने २०७२÷०७३ मा १३ हजार ९९२ किलो प्रतिहेक्टर मात्र उब्जाउ भएको थियो जब कि सो अवधिमा विषादीको प्रयोग भने ३२३ प्रतिशतले बढेको थियो ।

केन्द्रका प्रमुख हुमागाईंका अनुसार संसारमा हरेक वर्ष चार करोड मानिसमा विषादीको कतै न कतै कुनै न कुनै असर परिरहेको हुन्छ । विषादीकै कारण विश्वमा वार्षिक करिब तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । विषादीबाट हुने यो असरलाई रोक्न अभियानका रूपमा यसलाई अगाडि ल्याउन सन् २०१० देखि सप्ताव्यापी रूपमा मनाउँदै आए पनि नेपालले सन् २०१३ देखि सप्ताहव्यापी रूपमा मनाउँदै आएको उहाँले जानकारी दिनुभयो । यसपटक नेपालमा ‘घातक विषादीको प्रयोग हटाआँैंः जैविक विविधताको संरक्षण गरौँ’ भनी मूल नाराका साथ मङ्गलबारदेखि मनाउन लागिएको छ ।

सन् १९८४ मा भारतको भूपालमा विषादी चुहावटको कारणबाट भएको असरले २० हजार मानवीय क्षति तथा पाँच लाखभन्दा बढी घाइते भएको घटनाको स्मरण गर्दै सन् १९९८ देखि पेस्टिसाइड एक्सन नेटवर्क इन्टरनेसनल (पान) ले डिसेम्बर ३ लाई विषादी प्रयोगमुक्त दिनका रूपमा विश्वव्यापी रूपमा मनाउन थालेको थियो । गोरखापत्रमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार