काठमाडौं : नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा (स्वास्थ्य)बाट डा. दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन् ।
तर, अब प्रहरीका उच्च पदमा पुग्न वर्षौँ कुर्नुपर्ने अवस्था छैन । डा. थापाको अवकाशलगत्तै प्रहरीले दोस्रो महिला एआइजी पाउँदै छ । केही दिनअघि मात्रै डिआइजी डा. आशा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ । प्राविधिक मात्र होइन, प्रशासनतर्फका उच्च पदमा पनि महिलाको संख्या बढेको छ । हाल नेपाल प्रहरीमा चारजना महिला एसएसपी छन् ।
नेपाल प्रहरी मात्र होइन, सेना र सशस्त्र प्रहरी बलमा पनि महिलाको सहभागिता उल्लेख्य रूपमा बढ्दै छ । सेनाको इतिहासमै पहिलोपटक गत वर्ष मेजर सुलोचना पौडेलले स्टाफ कलेज उत्तीर्ण गर्नुभयो ।
नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ एन्ड कमान्ड कोर्स अनिवार्य मानिन्छ । सशस्त्र प्रहरीमा पनि सिनियर पदमा महिलाको संख्या बढेको छ । सेनामा ०१६ देखि नै महिला भर्ना लिन थालिएको हो । तर, ०४६ पछि मात्र संख्या बढ्यो । ०६१ भन्दा अगाडि प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । ०६१ मा पहिलोपटक सहायक सेनानीमा महिला भर्ना भए ।
हाल सामान्य सेवातर्फ महिला अधिकृतको संख्या एक सय ८३ पुगिसकेको छ । त्यस्तै प्राविधिकतर्फ दुई सय १४ जना छन् । पाँच हजार ६२ महिला सेनामा छन् । महिलाको संख्या निरन्तर बढिरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
प्राविधिकतर्फ हाल सहायक रथीमा तीन, महासेनानीमा १३ र प्रमुख सेनानीमा २७ महिला कार्यरत छन् । सामान्य सेवातर्फ महिलाहरू सेनानीसम्म पुगेका छन् । हाल ७४ महिला प्रशासनतर्फ र ५३ महिला प्राविधिकतर्फ सेनानी पदमा छन् । स
हसेनानीमा एक सय ४२, उपसेनानीमा ७३ र सहायक सेनानीमा एक महिला छन् । महिलालाई प्राथमिकता दिन छुट्टै गुल्मसमेत बनाइएको छ । उपत्यका पृतनाअन्तर्गत गोरखकाली गुल्ममा महिलाकै नेतृत्व हुने गरेको छ ।
त्यस्तै, नेपाल प्रहरीमा पहिलोपटक महिला भर्ना ००८ सालदेखि सुरु भयो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी एसएसपी पूजा सिंह त्यतिवेला भर्ना भएकी एक्ली महिला हुनुहुन्छ । ०५१ मा चार महिला मीरा चौधरी, किरण बज्राचार्य, किरण राना र दुर्गासिंह चन्द एकैपटक इन्स्पेक्टरमा भर्ना हुनुभायो । चौधरी र बज्राचार्य गत वर्ष एसएसपीमा बढुवा भए भने राना र चन्द बढुवा हुने तयारीमा छन् । यसअघि विमला थापा र पार्वती थापा नेपाल प्रहरीमा प्रशासनतर्फ डिआइजीसम्म पुग्न सफल हुनुभएको थियो ।
यद्यपि, प्राविधिक तर्पm भने महिलाहरू एआइजीसम्म पुगिसकेका छन् । भर्नामा समावेशी कोटाका कारण नेपाल प्रहरीमा महिलाको संख्या बढ्दो छ । हाल एक डिआइजीसहित चार एसएसपी, ११ एसपी, २२ डिएसपी र एक सय १५ इन्स्पेक्टर महिला छन् । त्यस्तै, दुई सय ८१ सइ, चार सय ६१ असइ, सात सय ९७ हवल्दार, चार हजार चार सय ४४ महिला सिपाही छन् ।
देशको कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा पनि क्रमशः महिलाको संख्या बढ्दै छ । इन्स्पेक्टरको चौथो ब्याच (२०६०)बाट सशस्त्र प्रहरीमा महिलाहरू भर्ना हुन थालेका छन् ।
चौथो ब्याचमा भर्ना भएकी यमुना सिंखडा हाल डिएसपी छन् । त्यस्तै पाँचौँ ब्याचमा भर्ना भएका रजनी थापा र लक्ष्मी थपलिया पनि गत वर्ष डिएसपी हुनुभएको छ । प्रशासनतर्फ सशस्त्र प्रहरीमा १६ जना इन्स्पेक्टर छन् ।
प्राविधिकतर्फ भने पाँच एसपी, नौ डिएसपी र २९ इन्स्पेक्टर छन् । उनीहरू सबै स्वास्थ्य सेवातर्फका हुन् । समग्रमा सशस्त्रमा दुई हजार नौ सय ३३ महिला छन् जसमा २१ सय ४२ जवान छन् । सशस्त्रमा महिला जनशक्ति कुल फौज संख्याको १२ प्रतिशत हो । यो संगठनमा महिला नेतृत्व तहमा पुग्न अझै केही वर्ष लाग्ने देखिन्छ ।
देशमा प्रजातन्त्र आएको एक वर्षपछि नेपाल प्रहरीमा महिलाका लागि भर्ना आह्वान गरिएको थियो, तर कोही पनि भर्ना हुन चाहेनन् । त्यसपछि पुरुष प्रहरीको तुलनामा उच्च तलब दिएर भर्ना हुन प्रोत्साहन गरियो । त्यसका लागि कांग्रेसका नेतालगायत केही उच्चपदस्थ व्यक्तिले नै केही महिलालाई कर गरेर प्रहरीमा भर्ना गराएका थिए ।
००८ मा त्यसरी भर्ना भएका २५ महिला जवानमध्ये एक हुन् चैतमाया डंगोल । ‘त्यतिवेला प्रहरीको तलब तीन मोहोर थियो, हामीलाई ३० रुपैयाँ दिइएको थियो,’ ६८ वर्षअघि प्रहरी प्रवेशको स्मरण गर्दै उहाले भन्नुभयो , ‘महिलाहरू भर्ना हुन नमानेपछि धेरै तलब दिइएको थियो ।’ चार महिनाको तालिमपछि सुरुका वर्ष हनुमानढोकास्थित प्रहरी कार्यालयमा काम गरेकी उहालाई पछि उपत्यकाबाहिर पनि खटाइएको थियो । नयापत्रिकमा समाचार छ ।