एजेन्सी : अमेरिकाको इतिहासमा सन् २०१९ सबैभन्दा खराब वर्ष बन्न पुगेको छ । त्यहाँ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
तीन वटा संस्थाले गरेको अनुसन्धानले उक्त तथ्याङ्क निकालेको हो । एपी, यूएसए टुडे र नर्थइस्टर्न विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार सन् २०१९ मा मात्रै ४१ वटा आमहत्या काण्ड भएका छन् । जसमा २११ जनाको ज्यान गएको छ।
हत्या गर्ने मानिस स्वयंको निधनबाहेक चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहार मानिएको बिबीसीको खबरमा उल्ल्ेख छ।
सन् २०१९ मा भएका सबभन्दा घातक हत्याकाण्ड चाहिँ मे महिनामा भर्जि्निया बीचमा भएको १२ जना मारिएको र अगष्ट महिनामा भएको एल पासोमा २२ जना मारिएकोलाई मानिएको छ।
४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । राज्यका हिसाबले क्यालिफोर्नियामा सबभन्दा धेरै आठवटा आम हत्याका घटना भएको थियो।
सन् १९७० सम्मको तथ्याङ्क हेर्दा सन् २०१९ भन्दा बढी हत्या काण्ड भएको नपाइएको एपीले जनाएको छ। अहिले आम हत्याको सङ्ख्या बढ्नु आंशिक रूपमा अमेरिकामा ‘आक्रोशपूर्ण र निराशाजनक समय’ ले गर्दा भएको भनिन्छ ।
आम हत्याहरू भएपनि अमेरिकी कानुन निर्माताहरूबीच बन्दुक नियन्त्रणमा सुधार ल्याउनेबारे कम छलफल हुने गरेको छ।