रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन् । प्रेस सङ्गठनद्वारा शनिबार यहाँ आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताए ।  प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको छ भने ।

“छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, उनले भने, “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नी ।”

एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्कोथरीले जहाज चलाएर देखाएको भन्दै उनले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुशी व्यक्त गरे । प्रधानमन्त्रीले ओलीले भने, “अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन् ।”

मुलुकको प्रगति रफ्तारमा गइरहेको जिकिर गर्दै उनले छिट्टै फलाम खानीको काम अगाडि बढाउँदै तेलखानीको अध्ययन गर्न लागेको जानकारी दिए । मुलुक सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले ठूला महत्वपूर्ण काम भइसक्दा पनि मुलुकमा विरोध गर्ने एउटा लहर नै चलेको भन्दै त्यसलाई रोकेर स्थायीत्वका पक्षमा दृढताका साथ लाग्नुपर्नेमा जोड दिए ।

उपलब्धि जनतामाझ लानसमेत उनले सञ्चारकर्मीसँग आग्रह गरे । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता, सुशासन, शान्ति सुव्यवस्था, आर्थिक उन्नतिका हिसाबले सरकारले असाधारण प्रयास गरेको बताउँदै सरकारको कामलाई ओझेलमा पारेर विभिन्न ढङ्गले भ्रम पैदा गर्ने प्रयास भइरहेकाले सचेत हुन सबैमा आग्रह गरे ।

गोकर्ण रिसोर्टको भाडा थपिएको विषयमा कहिल्यै म्याद नथपिएको, अहिलेको सरकारले मात्रै म्याद थपिएको जसरी प्रचार गरिएको छ, त्यसमा आपत्ति जनाउँदै उनले स्वतन्त्र सङ्घसंस्थाबाट मूल्याङ्कन र विधि तय गरेर आकर्षक ढङ्गले सरकारलाई कर तिर्छ र प्रतिष्पर्धामा जान्छ भने त्यो भाडामा लिन नपाउने भन्ने नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले जमानामा किनेर लिएको जग्गा अहिलेको सरकारले गरेको भनेर भ्रम पैदा गर्ने काम नगर्न आग्रह गरे ।

विगतमा चुनाव हारेर काम चलाउ भएको सरकारले ठूलाठूला कारोवार गरेको जिकिर गर्दै उनले तिनै तत्वले अनैतिक ढङ्गले जालझेल गरिरहेको बताए ।

कोही भोको पर्दैन कोही भोकै मर्दैन 

प्रधानमन्त्री ओलीले अब कोही भोकै नपर्ने र कोही भोकै नमर्ने बताए । जनताको सरकार भएकाले सडक मानव र बेसहारालाई जाडोमा कठ्याङ«ग्रिएर मर्न नदिने उहाँले दृढता व्यक्त गरे । “अहिलेको सरकारले त्यो हुन दिँदैन, यो जनताको सरकारको हो, निमुखा जनताका पक्षमा सरकार छ, कोही भोको पर्दैन, कोही भोकै मर्दैन”, प्रधानमन्त्रीले भने ।

उनले ज्येष्ठ नागरिकका लागि एक लाखको स्वास्थ्य बीमा, हरेक नागरिकका लागि बैंक खाता अभियान चलाएकोसमेत जानकारी दिए ।  जाडोमा कोही पनि मर्न नपरोस् भनेर आवश्यक व्यवस्था गरिएको उनले बताए ।

डुङ्गा डुब्न दिदैनौँ

उनले एकतापछि बनेको पार्टी एउटा डुङ्गा भएकाले डुब्न नदिने बताए । उनले पार्टी एक भएपछि सबै एउटा डुङ्गामा चढेकाले त्यसलाई कुनै हातलमा पनि डुब्न नदिएर एउटा गन्तव्यमा पुर्‍याउने बताए ।

“डुङ्गामा प्वाल पार्दै जाने हो भने एउटा मात्र डुब्दैनन् । सबै डुब्छन् । जसले प्वाल पार्न खोजे पनि यो डुङ्गा प्वाल पार्न दिइने छैन । जसले यो डुङ्गा डुबाउन खोजे पनि डुबाउन दिइने छैन”, उनले भने, “यो डुङ्गालाई उल्टाउन खोजे पनि उल्टाउन दिइँदैन । डुङ्गा बीचमा डुबाउन खोजे पनि दिइने छैन । यो डुङ्गा हामीसँग ७० वर्ष अनुभव बोकेर खियाइएर चलाइएको  डुङ्गा हो । धेरै बलिदानले सङ्घर्ष, कथा व्यथाले बनाइएकाले डुब्न दिइँदैन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार