काठमाडौँ – विश्वभरका इसाईहरुले बुधबार क्रिसमस डे अर्थात क्रिसमस दिवस मनाउँदै छन् । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले पनि बुधबार क्रिसमस दिवस मनाउँदैछन् ।
ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।
आज भन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए।
येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ । हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेका छन् ।
हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसको अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ । साथै गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरूको महानपर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।
नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।







