काठमाडौं । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।
चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
उच्च स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ । उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान छ ।
गत २८ असोजदेखि १ कात्तिकसम्म चिलीमा आयोजित इन्टरपोलको ८८औं महासभामा समेत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिनियाँ इन्टरपोलका प्रमुखले चीनका नागरिकले नेपाल बसेर साइबर अपराध लक्षित घटना गराइरहेको भन्दै विशेष निगरानीका लागि आग्रह गरेका थिए ।
स्रोतका अनुसार बैंक ह्याकिङ प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेपछि करिब दुई साता अघिदेखि तीन दर्जन चिनियाँ विशेषज्ञ अनुसन्धानको टोली नेपालमै बसेर आफ्ना नागरिकको गतिविधिमाथि निगरानी गरिरहेको छ ।
काठमाडौं आएर उनीहरूले नेपालबाट आफ्ना देशमा भइरहेका साइबर अपराध र आर्थिक अपराधसँग जोडिएका अपराध विषयमा नेपाल प्रहरीसँग संयुक्त रूपमा समन्वयमा काम गरिरहेको स्रोत बताउँछ ।
पक्राउ परेकाहरूले अनलाइनमार्फत चीनमा जुवा खेलाउने, अनलाइनमार्फत नै युवतीका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरूमाथि परिसर काठमाडौंले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालको कानुनकै परिधिभित्रै रहेर मुद्दा प्रक्रिया सुरु भइसकेको बताए । उनीहरू फरक–फरक समयमा नेपाल आएको र कतिपयको राहदानीसमेत नभेटिएको प्रहरीले जनाएको छ ।
चीन सरकारको विदेश मन्त्रालयले समेत आफ्नो विशेष आग्रहमा नेपाल प्रहरीले काठमाडौंमा १ सय २२ जना चिनियाँ नागरिकलाई दुवै देशको संयुक्त कारबाहीमा पक्राउ गरेको मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
फिलिपिन्समा यस्तै प्रकृतिको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक केही दिनअघि पक्राउ परेका थिए । यस्तै, कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिका अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको थियो ।
राजधानी दैनिकबाट