काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुइत हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानित भएका छन्। नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो।
साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको र रुईतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकोले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ। सम्मान प्रदान गर्न गठीत उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरी बाँस्कोटाले घिसिङलाई २०७३ सालको र रुइतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताए।
हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो। बाग्लुङमा जन्मिएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रबन्धक भई रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गरेकाले कर्पोरेशनले उनको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो। पुरस्कार २ लाख राशिको रहेको छ।