काठमाण्डौ – मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकिएपछि उपप्रधानमन्त्री एवम् कानुनमन्त्री उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्रीज्यू ! मेरो एउटा प्रस्ताव छ।’ प्रधानमन्त्री केपी ओलीले भने, ‘के प्रस्ताव ? ’ मन्त्री यादवले बन्द खाम झिकेर टेबुलमा राख्दै भने, ‘यो संविधान संशोधन प्रस्ताव हो। म यहाँ पेस गर्दछु।’
एकाएक ठाडो प्रस्ताव आएपछि प्रधानमन्त्री ओली जंगिएको एक मन्त्रीले अन्नपूर्णलाई बताए। प्रधानमन्त्रीलाई उधृत गर्दै ती मन्त्रीले भने, ‘संविधान संशोधन प्रस्ताव जति बेला मन लाग्यो त्यति बेला ल्याउने हो ? एउटाले ल्याएर हुन्छ ? संशोधन एउटा मन्त्रीले भनेर हुन्छ ? जसले जसरी जुन बेला ल्याए पनि हुने, यही हो विधि ? संविधान संशोधन गर्न राजनीतिक सहमति चाहिँदैन ? ’ यति भनेर प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको ती मन्त्रीले जानकारी दिए।
संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच खटपट शुरू भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् ।
सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार र नेकपाले समाजवादीलाई वास्ता गर्न छोडे पनि समाजवादीले भने सरकार नछोड्ने जनाएको छ ।







