काठमाडौँ । गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ । टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य सहर र नगरपालिकामा यो सेवा विस्तार गरेको जनाएको छ ।
योसँगै टेलिकम नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा पहिलो बनेको कम्पनीले दाबी गरेको छ । नेपालमै पहिलोपटक २०७३ पुस १७ गते फोरजी सेवा सुरु गरेको कम्पनीले गत वर्ष माघ २० गते नयाँ सम्झौता गर्दै फोरजी विस्तारलाई गति दिएको थियो ।
देशैभर फोरजी विस्तार गर्ने परियोजना अन्तर्गत अहिले तीव्ररूपमा नयाँ टावरमा यो सेवा जडान गर्ने काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘खासगरी पूर्वाधार निर्माणमा निकै जटिलताका बीच पनि नियमितरूपमा सेवा विस्तारको काम भइरहेको छ’ उनले भने ‘फोरजी विस्तारको अहिलेसम्मको प्रगति हेर्दा टेलिकममा कुनै परियोजनामा यति छिटो काम भएको यो पहिलोपटक नै हो ।’
टेलिकमले करिब १९ अर्ब रुपैयाँ लगानीमा ६५ लाख फोरजी ग्राहक थप गर्ने लक्ष्यसहित माघदेखि नेटवर्क विस्तारको परियोजना अगाडि बढाएको थियो । उक्त परियोजना अनुसार अहिलेसम्म हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लाका मुख्य स्थानमा फोरजी सेवा पुगेको कम्पनीले जनाएको छ ।
फोरजी परियोजना अन्तर्गत कम्पनीले चार हजार दुई सय टावरमा फोरजी प्रविधि जडान गर्ने लक्ष्य राखेको छ । त्यस्तै यसै परियोजना अन्तर्गत थप छ सय नयाँ टावर स्थापना गर्ने काम कम्पनीले अगाडि बढाएको छ ।