कार्गो ढुवानीमा हेलिकोप्टर कम्पनीको चरम लापार्वाही, माथिको अनुमति भन्दै जथाभावी उडाउँदै

सोलुखुम्बु : जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरित उडान भर्ने गरेको भएपनि जिल्ला प्रशान कार्यालय भने बेखबर रहेको छ । कैलाश र सिम्रिक एयरको हेलिकोप्टरले खुम्बुको विभिन्न क्षेत्रमा दैनिक उपभोग्य देखी निर्माण सामाग्री समेत ढुवानी गरिरहेको छ ।

नेपाल नागरिक उड्यान प्राधिकरणले समेत स्थानीय सुरक्षा निकाय संगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरि उडान अनुमति दिएको भएपनि त्यसलाई वास्तै नगरि आफुखुसी उडान भर्ने गरेको पाईएको छ । नेपाल नागरिक उड्डयान प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमान्डौले सिम्रीक एयर प्रा.लि.लाई मिति २०७६ मंसिर १६ गते लेखेको चलानी नम्बर १०७८ को पत्र र मिति २०७६ मंसिर २० गते कैलाश हेलिकोप्टर सर्भिसेज प्रा.लि.लाई लेखेको चलानी नम्बर ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नु पर्ने उल्लेख छ ।

जिल्ला प्रशासनलाईनै जानकारी छैन ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले सर्त सहित उडान अनुमति दिएको भएपनि हेलिकोप्टर कम्पनीले कानुनको खिल्ली उडाएका छन् । सदरमुकाम सल्लेरी देखी करिब २ घण्टाको पैदल यात्रामा पुग्न सकिने सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुबाट ती हेलिकोप्टरले निर्वाध रुपमा सामान ढुवानी गरिरहेका छन् ।

तर दिनहुँ सामाग्री ढुवानी गरिरहेको ती हेलिकोप्टरको बिषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी नभएको बताईन्छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले त्यस बिषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनमानी उडान भर्दा प्रतिबन्धित सामग्रीहरु ओसारपसार हुन सक्ने सम्भावना बढी रहेको बताए ।

नियम कानुन भएपनि त्यसको बेवास्ता गर्दै बिगतको बर्षहरुमा पनि यसैगरि समान ढुवानी हुनेको स्थानीय जानकार बताउँछन् । यसमा स्थानीय देखी उच्च तहका व्यक्तिको समेत संलग्नता हुन सक्ने स्थानीयको दावी छ । केही बर्ष देखी काठमान्डौ बाट टाक्सिन्दु सम्म सिधा सडक सञ्चालन भएकाले त्याहा सम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकोप्टर मार्फत माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ ।

समन्वयमा नै उडान भरेको कम्पनीको दाबी
प्रमुख जिल्ला अधिकारीले बिना उडानबारे जानकारी नभएको बताईरहँदा हेलिकोप्टर कम्पनीले भने स्थानीय प्रशासनसँगको समन्वयमा नै सामान ढुवानी गरिरहेको दाबी गरेको छ । कैलाश एयरका जनरल म्यानेजर प्रतापजंग पाण्डेले प्रशासनसँगको समन्वयमा नै उडान गरिरहेको बताए ।

प्राधिकरण भन्छ : तत्काल छलफल गर्छौ ।
उडान अनुमति जारी गर्ने तथा नियमन गर्ने निकाय नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने सोलुखुम्बुमा भईरहेको उडानबारे बोल्न चहेनन् । उनले जिल्लाकै प्राधिकरण प्रमुख जानकार रहेको भन्दै जवाफ दिनबाट पञ्छिन खोजेका छन् ।
तर नेपाल नागरिक उड्डयन कार्यलय फाप्लु सोलुखुम्बुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानी बारे आफुसँग कुनै समन्वय नगरेको दाबी गरे । कम्पनीले माथिको निर्णय भन्दै आफूखुशी उडान भर्ने गरेको उनको भनाई छ ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा भईरहेको उडान बारे आफ्नो ध्यानाकर्षण भएको बताए । स्थानीय सुरक्षा निकायसंग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरबाही भएको भन्दै उनले यसबारेमा केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कम्जोरी पाईएमा कार्वाही गर्ने समेत आवश्वसन दिए ।

कानुनी व्यवस्था :
नेपाल नागरिक उड्डयान ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षा अन्तरगत खनतलासी गर्नुपर्ने दफा १ मा बिमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनैपनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउँनु वा वायुयानबाट ओसारप्रसार गर्नुगराउनु हुँदैन ।

यस्तै सोही ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बेगर त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको सर्तको विपरित हुने गरि वायुयान सञ्चालन गरेमा एक लाख देखी १० लाख सम्म जरिवाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ ।

उडिरहेको हेलिकोप्टरबाट पटक–पटक समान खस्छ ।
सुरक्षा जाँचबिना जथाभाबी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्रै उडान गर्ने गराउने भन्ने निर्णय गरेको भए पनि त्यो लागू हुन नसक्दा समस्या हुने गरेको छ ।

गत भदौ १९ गते बिहिबार दिन अपराह्न उडिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरक लगाएतको सामाग्री खसेको थियो । फाप्लु बिमानस्थलबाट उडेको उक्त हेलिकोप्टरले केही मिनेटमै सोलुदुधकुण्ड नगरपालिका २ फेरामा उक्त सामाग्री खसालेको भन्दै स्थानीयले प्रशासनको ध्यानकर्षण समेत गराएका थिए । पटक पटक उडीरहेको हेलिकोप्टरबाट सामाग्री खस्दा समेत नियमनकारी निकाय मौन बसेको स्थानीय छिरिङ शेर्पाको भनाई छ ।

खुम्बु क्षेत्रमा सहज सामान ढुवानीको बिकल्पको रुपमा हवाई सेवानै भएपनि नियम पालना भने गर्नुपर्ने यहाँका स्थानीयको माग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार