काठमाडौं । नेपालसँगको सीमा विवाद समाधानका लागि अग्रसरता नदेखाएको भारतले अर्को छिमेकी मुलुक चीनसँग सिमासम्बन्धी मुद्दामा वार्ता गर्दैछ। दुई देशका प्रतिनिधिबीच शनिवार र आइतबार नयाँ दिल्लीमा सीमासम्बन्धी विवाद समाधानका लागि वार्ता हुन लागेको हो।
दुईदिने वार्तामा सीमा निर्धारण, सीमा व्यवस्थापन र द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मुद्दामा चर्चा हुने चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको छ। वार्तामा भारतीय पक्षबाट राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एवं स्टेट काउन्सुलर वांङ्ग यीले गर्ने छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंङ्ग शुआङ्गले चीनको विशेष प्रतिनिधिमण्डलले डिसेम्बर २०-२१ सम्म डोभलसँग २२औँ चरणको सीमा वार्ता गर्ने बताए। २१औँ चरणको वार्ता अघिल्लो वर्ष चीनमा भएको थियो। गेङ्गले विशेष प्रतिनिधि बीचको छलफल दुई देश बीचको वार्ता र रणनीतिक संवादका लागि मुख्य माध्यम र महत्वपूर्ण मञ्च हुनेसमेत बताए।
गेङ्गले दुवै देशका विशेष प्रतिनिधि प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपती शी जिनपिङको सहमतिमा अगाडि बढ्ने र सीमा निर्धारण, सीमा व्यवस्थापन तथा समाधानका लागि व्यावहारिक सहयोगमाथि विचार आदान-प्रदान गर्ने जानकारी दिए। गत अक्टोबरमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी बीचको अनौपचारीक बैठकपछि चीनबाट पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको हो। यसै वर्षको सुरुमा चेन्नईमा मोदीले चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्गसँग वार्ता गरेका थिए।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्गले दिल्लीमा दुवै देशका प्रतिनिधिले आपसी हितका द्विपक्षीय र अन्तर्राष्ट्रिय मुद्दामा पनि विचार आदान-प्रदान गर्ने बताए। भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटरको वास्तविक नियन्त्रण रेखालाई लिएर विवाद हुँदै आएको छ। विशेषगरी विवादित अरुणाञ्चल क्षेत्रमा चीनले पनि दाबी गर्दै आएको छ।
चीन र भारतको बीचमा लामो सीमा छ, जुन नेपाल र भूटानद्वारा तीन अनुभागमा फैलिएको छ। यो सीमा हिमालय पर्वतहरूसँग जोडिएको छ र तत्कालीन पश्चिमी पाकिस्तानसम्म फैलिएको छ। यो सीमामा विवादित क्षेत्र पर्दछ। विवादित हिमालय सीमालाई लिएर युद्धसमेत भएको थियो। यद्यपि दुवै पक्षले सीमा मुद्दाको समाधान नहुञ्जेल सीमावर्ती क्षेत्रमा शान्ति एवं व्यवस्था कायम बनाई राख्न आवश्यक रहेको बताउँदै आएका छन्।