बादी समुदायको यथार्थ कथा

काठमाण्डौं – बादी समुदायको पहिचान र अवस्थाबारे अध्ययन गरेर लेखिएको पुस्तक सार्वजनिक गरिएको छ । विभिन्न १० जिल्लाका ४४ स्थानीय तहमा गरिएको स्थलगत अध्ययन गरेर तयार पारिएको पुस्तक महिला, बालबलिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा सिप र कलाले धनी बादी समुदायले समाजमा भोग्नु परेको विवेद र अवहेलनाको अवस्थालाई समेटेको छ । युएनडिपीको सहयोगमा कमिट नेपालले गरेको अध्ययन अनुसार सामाजिक विभेदको सिकार बनेका उनीहरुको शैक्षिक अवस्था पनि कमजोर रहेको देखिएको छ ।

तीन सय जनालाई प्रत्यक्ष भेटेर गरिएको तथ्यांकबाट १६ प्रतिशत बादी निरक्षर रहेको देखिएको छ भने करिब ३ प्रतिशतले मात्र उच्च शिक्षा हाँसील गरेका छन् । भूमीको पहुँच र आयआर्जनका हिसाबले पनि उनीहरुको अवस्था एकदमै नाजुक रहेको अध्ययनले देखाएको छ ।

पुस्तकले बादी समुदायको दुख, पिडाको अवस्था, आन्दोलन तथा विद्रोहको रुप र इतिहाससँगै आगामी दश वर्षे रणनीतिक योजना पनि सुझाएको छ । पुस्तक सार्वजनिक गर्दै मन्त्री गुरुङले धनी र गरिब, शिक्षित र अशिक्षितबीचको खाडल पूर्ति गर्न व्यवस्थित रुपमा अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्ता विभेद अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न समय सिमा तोकेर अघि बढ्नु पर्नेमा उहाँको जोड थियो । पुस्तकले सरकारको आगामी नीति तथा कार्यक्रम तय गर्नका लागि र यस अघि गरिएका सम्झौता कार्यान्वयनका लागि आफ्नो ध्यानार्कषण गरेको उहाँको भनाई छ ।

बादी समुदायमाथि लागेको कलंकलाई मेटाउन तीनै तहसँग समन्वय गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताले पनि सिप र कलामा अग्रपंक्तीमा रहेका बादीहरुको बाल्यकालदेखि मानवअधिकार हनन भईरहेको भन्दै उनीहरुलाई विभेदको चंगुलबाट बाहिर निकाल्नु पर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार