ट्रम्पमाथि लाग्यो महाअभियोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।

यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ ।अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावमा नेपाली समय अनुसार बुधबार बेलुका सुरु भएको छलफल बिहीबार बिहान सम्पन्न भएको हो । छलफल सकिएपछि मतदान भएको हो ।

तल्लो सदनका विभिन्न संसदीय समितिमा रहेका सदस्यहरुले पालैपालो महाअभियोग प्रस्तावका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । डेमोक्र्याटिक सांसदहरुले महाभियोग प्रस्ताव अत्यावश्यक र संवैधानिक व्यवस्थाका लागि अति आवश्यक रहेको बताए ।

तर रिपब्लिकन पार्टीका सांसदहरुले राजनीतिक उद्देश्यले महाअभियोग प्रस्ताव ल्याइएको र राष्ट्रपति ट्रम्पमाथिका अभियोगमा स्पष्ट प्रमाण नरहेको आरोप लगाएका छन् ।

डेमोक्र्याट सांसदहरुले कानून या संविधान भन्दा माथि कोही पनि नरहने तर राष्ट्रपति ट्रम्पले कानून र संवैधानिक व्यवस्थाको धज्जी उडाएको बताएका छन् ।

संसदमा महाअभियोग प्रस्तावमाथि छलफल सुरु हुनु पूर्व रिपब्लिकनले महाअभियोग प्रस्ताव रोक्नका लागि ल्याएको प्रस्ताव अस्वीकृत भएको थियो ।

डेमोक्र्याटको बहुमत रहेको सदनले ट्रम्पमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेसँग ट्रम्प अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति भएका छन् । अमेरिकाको इतिहासमा यो चौथो महाअभियोग प्रक्रिया हो ।

ट्रम्पमाथिको महाअभियोगबारे माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार