काठमाडौं । चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ ।
नेपाल र चीनबीच वाणिज्य तहमा खाद्यवस्तु आयात र निर्यातमा सहजीकरण गर्न भएको सम्झौताविपरीत चिनियाँ पक्षले नयाँ नियम लागू गरेको हो । खाद्यवस्तुको लेवलमा लेखिने भाषाकै विवादले दुई देशबीच हुने खाद्यवस्तु आयात/निर्यात तीन महिनादेखि ठप्प बनेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चिनियाँ भाषामा लेभल नलेखिएको भन्दै नेपाली पक्षले निर्यात गर्न लागेको चाउचाउ, बिस्कुट, चुइगम, पिठो, चकलेटजस्ता खाद्यन्नको भन्सार जाँच पास चीनियाँ पक्षले ठप्प बनाएको रसुवा भन्सार प्रमुख पुण्य विक्रम खड्काले जानकारी दिए ।
‘भदौ अघिसम्म नियमित आयात निर्यात भइरहेको त्यस्ता खाद्यवस्तु चार महिनादेखि रोकिएका छन्,’ भन्सार प्रमुख पुण्यविक्रम खड्काले भने ।
खड्काका अनुसार, सीमा क्षेत्रका चिनियाँले प्रयोग गर्ने वस्तुमा उल्लेखित नेपाली र अंग्रेजी भाषाको लेवल नबुझिने भएकाले आयात रोकेको जवाफ चिनियाँ पक्षले दिएका छन् । चिनियाँ पक्षले खाद्यान्नमा चिनियाँ लेभल नभएकै कारण रोकिए दिएपछि नेपाली पक्षले पनि चिनियाँ भाषामा मात्रै लेभल भएका वस्तु आयात रोक्न थालेको छ ।
नेपालको गुणस्तर र क्वारेन्टाइन कानुनले नेपाली वा अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा लेभल उल्लेख नभएको वस्तु आयातमा कडाइ गर्न सक्ने व्यवस्था गरेको छ । अंग्रेजी भाषामा वा नेपाली लेभल नभएका बिस्कुट, चकलेट, ब्रेडका परिकार, मसला, कुखुराको तारेको मासु तथा माछाका परिकारहरुको भन्सार पास नगरिएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।