इलाम – इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने ६० देखि ७० वर्षका ज्येष्ठ दलित नागरिकको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको हो ।
पुस १ गतेदेखि लागू गरी पारिवारिक स्वास्थ्य बिमा गरिदिने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । स्वास्थ्य उपचारमा सहज होस् भनेर नगरपालिका आफैंले स्वास्थ्य बिमा गरिदिने भएको उनले बताए । रकम अभाव भएर उपचारमा जान नसक्ने, गएर पनि उपचार गराउन नसक्नेलाई यो कार्यक्रमले लाभ मिल्ने नगरपालिकाले अपेक्षा गरेको छ ।
त्यस्तै संघीय तथा प्रदेश सरकारले घोषणा गरेको बिदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा एक वर्षमा छ दिन भन्दा नबढाई कार्यपालिकाबाट निर्णय गरी बिदा दिने कार्यविधिमा उल्लेख छ । नगरपालिकाले आगामी पुस २ गते इलाम नगरपालिका–१० गोदकस्थित लेप्चा जातिको बसोवास रहेको क्षेत्रमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्ने भएको छ ।
आगामी ६ देखि १७ पुससम्म जनताको घरदैलोमा पुगेर जनताका गुनासो सङ्कलन गर्न ‘जनतासँग मेयर कार्यक्रम’ इलाम १२ वटै वडामा सञ्चालन गर्ने भएको छ । भ्रमण वर्ष २०२० का क्रियाकलाप प्रवद्र्धन र आवश्यक प्रचारप्रसारका लागि इलाम नगरपालिकामा नगर प्रमुख महेश बस्नेतको संयोजकत्वमा समितिको गठन गरेको छ ।