काठमाडौं – आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार संरक्षणमा विश्व समुदायलाई खबरदारी गर्ने उद्देश्यले आज विश्वभर आप्रवासी कामदार दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १८ का दिनलाई अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका रूपमा मनाउने गरिएको हो।
आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले उनीहरुको अधिकारका लागि विश्व समुदायलाई दवाब दिन विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले आप्रवासी कामदारको अधिकार पैरवी गर्न हिजो र अआज थाइल्याण्डको बैङ्ककमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ।
त्यस्तै अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएम ले पनि प्रवासी कामदारको अधिकार प्रत्याभूतिका लागि विश्वभर विविध कार्यक्रम गर्दैछ।
नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार, आप्रवासन चक्र, सुरक्षित आप्रवासनलगायत विषयमा सचेतना फैलाउने उद्देश्यले सरोकारवालाको सहभागितामा सप्ताहव्यापी रुपमा कार्यक्रमको आयोजना गरिएको थियो। पछिल्लो समय आप्रवासी कामदारको मानव अधिकार प्रत्याभूतिको विषय प्रमुख चुनौतीका रूपमा देखिएको छ।